खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा रहेको ज्ञानकुञ्ज एकाडेमीद्वारा ७८औँ स्वतन्त्रता दिवस पालन गरिएको छ। अमरजीत राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिटोङ एक ग्राम पञ्चायत प्रधान सुशील सुब्बा, विशिष्ट अतिथिको रुपमा सामाजिक कार्यकर्ता एवम् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिटोङ-लाटपञ्चर समष्टि सचिव रतन गुरूङ, पञ्चायत समिति सदस्य योङमित लेप्चा, सिटोङ एक ग्राम पञ्चायत सदस्यगण दिपा खवास, निलम तामाङ, विगेन भुजेल तथा अतिथिहरूमा स्थानीय विजय लेप्चा, पञ्चवीर राई, दावा लेप्चा, सन्दीप रसाईली, बुनु शर्मा, अभिभावकगण साथै अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो चरणमा पाठशाला प्राङ्गणमा राष्ट्रीय ध्वज उत्तोलन गरियो। नानीहरूले मार्चपास्ट गर्दै ध्वजलाई सलामी दिए। आफ्नो वक्तव्य राख्दै प्रमुख अतिथि सिटोङ एक ग्राम पञ्चायतको पञ्चायत प्रधान सुशील सुब्बाले नानीहरूमा नैतिक शिक्षा एवम् पर्यावरण संरक्षणबारे चेतना जगाउनु आजको आवश्यकता रहेको बताए। सप्ताहमा एउटा पिरियड स्वच्छतामाथि हुनु आवश्यक रहेको पनि उनले बताए।

विशिष्ट अतिथि रतन गुरुङले नानीहरूको सर्वाङ्गीण विकासमा विद्यालयको भूमिकाबारे प्रकाश पारे तथा आफू सदैव पाठशालासितै रहेको प्रतिश्रुती दिए। विशिष्ट अतिथि पञ्चायत समिति सदस्या योङमित लेप्चाले आफू शुरुदेखि नै ज्ञानकुञ्ज परिवारसित नजीक रहेको उल्लेख गर्दै पाठशालाको निम्ति केही गर्न परे आफू सधैँ तत्पर रहेको बताइन्। कार्यक्रमको उत्तरार्द्धमा स्थानीय लेप्चा सांस्कृतिक भवनमा नानीहरूले विविध कार्यक्रम प्रदर्शन गरेका थिए। नानीहरूले नै पालैपालो सञ्चालन गरेको कार्यक्रममा नेपाली, अङ्ग्रेजी, हिन्दी राष्ट्रभक्ति गीत, कविता, वक्तृता, एकल गायन, समूह गीत, राइम्स आदि प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई आफ्नो अध्यक्षीय सम्बोधन गर्दै अमरजीत राईले नानीहरूको प्रदर्शनको सराहना गरे भने देशसम्बन्धी सारगर्भित वक्तव्य राखेका थिए।
कार्यक्रममा उपस्थित सबैलाई पाठशालाका पक्षमा आभार प्रकट गरिएको छ।