झापा: लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख १ हजार रुपैयाँ दान हस्तान्तरण भएको छ। चिनियाँ भिक्षु तथा नागरिकहरूले व्यक्तिगत रूपमा रकम जम्मा गरी विश्वविद्यालयलाई ४० लाख १ हजार रुपैयाँ दान गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बीच चिनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिस्ट्रार डा. तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरेको हो।
कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिस्ट्रार आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले दिएका दानले सहयोग पुग्ने र त्यसको उचित उपयोग गरिने बताउनुभयो। ‘विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिविधि गरिरहेको छ,’ उनले भने , ‘सबैको सहयोग रहँदा यसको प्रवर्द्धनमा टेवा पुग्छ।’
त्यस्तै, चिनियाँ भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धान कार्यका लागि आफूहरूले दान गरेको बताए। निरन्तर दान गर्दै जाने उनको भनाइ छ। चिनियाँ भिक्षुसहित १५ परिवारले संकलन गरेको रकम दानस्वरूप हस्तान्तरण गरिएको हो। सो अवसरमा वाङ युछेङ, ह्वाङ छोङसिं, सु सिङखोईसहितका दाताहरूको उपस्थिति थियो।