मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा पैयोंग फूटबल क्लब च्याम्पियन भयो। मल्ली डाँड़ा खेल मैदानमा बिहीवार भएको फाइनल म्याचमा पैयोंग फूटबल क्लबले किर्ने फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। फाइनलमा मुख्य अतिथिको रूपमा एनबी प्रधान (एमएलए, मल्ली, गवर्मेण्ट अव् सिक्किम) उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा फारवन्ती तामाङ (पूर्व एमएलए), मोहन शर्मा (पूर्व एमएलए), अञ्जीता राजालिम (जिल्लाध्यक्ष, नाम्ची), तिलक बस्नेत (पूर्व उपाध्यक्ष, एसकेएम पार्टी), किशोर छेत्री (एसएचओ, मल्ली), सोनम भूटिया (आरओ, मल्ली), अरुण प्रधान (सरकारी ठेकादार), किशन अग्रवाल र ओम अग्रवालको उपस्थिति रहेको थियो। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी अण्डर-१४ टुर्नामेण्टमा सदाम सीनियर सेकेण्डरी स्कूल च्याम्पियन भयो। फाइनलमा सदाम एसएसए-ले मल्ली गुम्बा सीनियर सेकेण्डरी स्कूललाई ३-१-ले पराजित गऱ्यो।