खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ कमान क्षेत्रमा पनि ७८औं स्वतन्त्रता दिवस समारोह नयाँ कमान ग्राम कल्याण समितिको आयोजनामा सम्पन्न भएको छ। नयाँ कमान खेल मैदानमा आयोजित स्वतन्त्रता दिवस समारोहको अध्यक्षता नयाँ कमान ग्राम कल्याण समितिको सभापति मिलन प्रधानको अध्यक्षतामा अनि घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्य अनिल तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। नयाँ कमान ग्राम कल्याण समितिको सचिव अजितकुमार बलले सञ्चालन गरेको समारोहमा स्वागत सम्भाषण बिजय तामाङले राखेका थिए। स्वतन्त्रता दिवसको अवसरमा भूतपूर्व सैनिक सन्तोष थापाको बाहुलीबाट राष्ट्रिय ध्वजा उत्तोलन गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सन्तोष थापा, सुबेदार रूद्रबहादुर प्रधान, डम्बर प्रधान, अम्बर लामा, कृषिबहादुर ठोक्कर, राजु लामा, राजकुमार विश्वकर्म लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा नयाँ कमान गाउँका नानीहरूले देश भक्ति गीत, नृत्य आदि प्रस्तुत गरेका थिए। त्यसरी नै कार्यक्रममा फुटबल प्रतियोगिता अन्तर्गत युवावर्ग र भेटरेन गरी दुईवटा वर्गमा खेलाइएको थियो।

कार्यक्रममा स्थानीयहरूका लागि डोरी तान्ने, म्युजिकल चेयर्स, नेपाली हिज्जे सही लेख्ने प्रतियोगिता, इन र आउट, नानीहरूका लागि १०० र २०० मीटरको दौड आदि खेलाइएको थियो। यस ७८औं स्वतन्त्रता दिवस समारोह विषयमा नयाँ कमान ग्राम कल्याण समितिको सभापति मिलन प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।