खरसाङ: तीनधारे महानदी समष्टि स्तरीय नक आउट फुटबल टुर्नामेन्टको उपाधि तीनधारेको राजबारी जनसेवा संघले जितेको छ। गत २९ जूनदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ब्रदरवुड तीनधारेको आयोजनामा भईरहेको तीनधारे महानदी समष्टि स्तरीय नक आउट फुटबल टुर्नामेन्टको फाइनल खेल आज तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा घैयाबारीको उदय संघ र तीनधारेको राजबारी जनसेवा संघमाझ सम्पन्न भएको छ। राजबारी जनसेवा संघको टिम तीनजना नाईजेरियन खेलाडीहरूको साथमा फाईनल खेल्नको लागि उत्रेका थिए। तर पनि घैयाबारीको खेलाड़ीहरूले आक्रमक खेल खेलेका थिए। खेलको पहिलो हाफ गोलरहित समाप्त भएको थियो भने दोस्रो हाफमा पनि दुवै दलले कुनै गोल गर्न सकेनन्। दुवै दलले गोल गर्ने प्रयास गरिरहेका थिए।यस क्रममा राजबारीका खेलाड़ीहरूले प्रहार गरेको कतिपय सटहरूलाई घैयाबारीको गोल किपर निक्कै फूर्तिसाथ रक्षा गरेका थिए। फाइनल खेलको निर्धारित समयसम्म पनि दुवै दलले कुनै गोल गर्न नसकेपछि सोझै पेनल्टी शुट आउटमा परिणाम प्राप्त भएको थियो। पेनल्टी शुट आउटमा पनि दुवै दलका गोल किपरले राम्रो बचाऊ गरेका थिए। तर अन्त्यमा राजबारीको गोल किपर भुवन प्रधानले विपक्षी दलले हिर्काएको पेनल्टी सेभ गर्नुको साथै अन्तिममा पेनल्टी शुट आउटमा निर्णायक गोल गरेर आफ्नो दललाई च्याम्पियन बनाएका थिए। यस फाइनल खेलमा मुख्य अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री, विशिष्ट अतिथिहरूको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत उप प्रधान केवल राई, पञ्चायत समिति खेलकुद विभागको कर्माध्यक्ष वाङ्दी लामा, कर्माध्यक्ष साजन दर्जी, बिनयकुमार छेत्री, पञ्चायत सदस्यहरू लगायत वरिष्ठ फुटबल खेलाड़ीहरू उपस्थित रहेका थिए। तीनधारे महानदी समष्टि स्तरीय फुटबल टुर्नामेन्टको उपाधि जित्ने तीनधारेको राजबारी जनसेवा संघलाई आकर्षक ट्रफीक साथमा २५ हजार रूपियाँ नगदराशि र उप विजेता घैयाबारी उदय संघलाई आकर्षक ट्रफीको साथमा पन्ध्र हजार नगदराशि पनि प्रदान गरिएको छ। यस फाईनल खेलमा म्यान अफ् द म्याच घैयाबारीको गोल किपर केवल छेत्री, म्यान अफ् द टुर्नामेन्ट घैयाबारीकै जर्सी नम्बर १४ वशिष्ठ थापा चयन भएका छन्। त्यसरी सर्वाधिक गोलगाता दुई नम्बर बस्तीको खेलाड़ी अजनिश राई, बेस्ट गोल किप्पर राजबारीका भुवन प्रधान अनि फेयर प्ले टिम अवार्डको उपाधि सिपाहीधुराले पाएको छ। आजको खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै ब्रदरवुड तीनधारेको सचिव शुभम प्रधानले विस्तृत रूपमा जानकारी गराउँदै तीनधारे महानदी समष्टि स्तरीय फुटबल टुर्नामेन्टको आयोजनामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।