सिलगढी: कोलकाताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा एक महिला डाक्टरको निर्मम हत्या पछि, बंगालभरि व्यापक हंगामा भएको छl डाक्टर र स्वास्थ्यकर्मीहरूको सुरक्षामा पनि प्रश्न उठाइएको छ। यस घटनापछि सिलगढी जिल्ला अस्पतालका अधिकारीहरूले एउटा टोली बनाएर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारेका छन्। अस्पताल उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच) पछि दार्जीलिङ जिल्लाको दोस्रो ठूलो सरकारी स्वास्थ्य संस्था हो। स्रोतका अनुसार ६६ सदस्यीय विशेष टोलीमा अवकाशप्राप्त सरकारी कर्मचारी, नागरिक रक्षा र पुलिस रहेका छन्। स्रोतक अनुसार मंगलबारबाट टोलीले काम शुरु गरेको छ। टोलीले अस्पतालको सम्पूर्ण सुरक्षा व्यवस्था तीन सिफ्टमा हेर्नेछ। टोलीको नेतृत्व अस्पतालको पुलिस क्याम्पका अधिकृतले गर्नेछन्। योजना अनुसार सुरक्षासँग सम्बन्धित सबै रिपोर्ट अस्पतालका सुपरिटेन्डेन्टलाई पठाइनेछ। टोलीमा नागरिक प्रतिरक्षाका २४ जना, गैरसरकारी संस्थाका २८ जना, सेवानिवृत्त सात सरकारी कर्मचारी र सात पुलिस रहेका छन्।