नयाँ दिल्ली: देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा, प्रधानमन्त्री नरेन्द्र मोदीले ११औं पटक लाल किल्लामा झण्डा फहराए। झण्डा फहराएपछि उनले देशवासीलाई सम्बोधन गर्दै विकसित भारतको सपना पनि प्रस्तुत गरे। यस वर्षको स्वतन्त्रता दिवसको विषयवस्तु विकसित भारत @२०४७ राखिएको छ। सम्बोधनमा उनले समान नागरिक संहिता, बंगलादेशमा जारी हिंसा, देशका छोरीहरू र एक लाख गैरराजनीतिक युवाका विषयमा कुरा गरे। उनले देशको न्यायिक प्रणालीको बारेमा पनि बोल्दै यसमा ढिलाइ हुनु चिन्ताजनक रहेको बताए। उनले भने, ‘हाम्रो देशको न्याय प्रणालीमा सुधारको ठूलो खाँचो छ।‘ देशका महिला र छोरीका सम्बन्धमा प्रधानमन्त्रीले महिलाले हरेक क्षेत्रमा प्रगति गरिरहेको बताए। आज महिलाले नेतृत्व पनि दिइरहेको बताए। उनले भने, ‘वर्षौंदेखि हामीले महिला केन्द्रित विकासमा काम गरेका छौं। हाम्रो वायुसेना होस्, सेना होस्, नौसेना होस् वा अन्तरिक्ष क्षेत्र होस्, हरेक क्षेत्रमा महिलाहरूले उत्कृष्ट काम गरिरहेका छन्।‘
प्रधानमन्त्री मोदीले महिला हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘महिलामाथि हुने अत्याचार रोक्नेतर्फ हामीले समाजका रूपमा गम्भीर भएर सोच्नुपर्छ, यसप्रति आक्रोश छ, म महसुस गरिरहेको छु। महिलामाथि हुने अपराधको यथाशीघ्र छानबिन हुनुपर्छ, राक्षसी प्रवृत्ति भएकालाई कारबाही गर्नुपर्छ। म यो पनि भन्न चाहन्छु कि जब बलात्कारका घटनाहरू हुन्छन्, त्यसको मिडियामा धेरै चर्चा हुन्छ, तर अपराधीलाई कारबाही गर्दा त्यसलाई प्रस्ट रूपमा प्रकाशित गर्नु हुँदैन।‘
बंगलादेशमा जारी हिंसाप्रति प्रधानमन्त्री मोदीले पनि प्रतिक्रिया दिएका छन्। छिमेकी मुलुकमा के भइरहेको छ भन्ने देखेर आफू चिन्तित भएको उनले बताए। उनले भने, ‘बंगलादेशमा जे भयो, छिमेकी राष्ट्र भएकाले हामी स्थितिप्रति चिन्तित छौं। हामी आशा गर्छौं कि त्यहाँको अवस्था छिट्टै सामान्य हुनेछ। साथै, त्यहाँका हिन्दू र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ। सुख शान्तिको बाटोमा हिडौं आगामी दिनमा बंगलादेशको विकास यात्रामा हामी सधैं शुभचिन्तक रहनेछौं।‘
यूनियन सिभिल कोडको बारेमा प्रधानमन्त्री मोदीले भने, ‘यसमा छलफल भइरहेको छ।‘ उनले भने, ‘देशको सर्वोच्च अदालतले पनि हामीसँग समान लोकतान्त्रिक संहिता मागेको छ र यो देशको संविधान निर्माताको सपना पनि थियोl जुन कानून धर्मको आधारमा देशलाई विभाजन गर्दछ, जो उँच नीचको कारण बन्दछ, यस्तो कानूनको लागि देशमा कुनै स्थान हुन सक्दैनl हामीले साम्प्रदायिक नागरिक संहितामा ७५ वर्ष बिताएका छौं, अब हामी धर्मनिरपेक्ष नागरिक संहितातर्फ जानुपर्छ।‘