जलपाईगढी (पश्चिम बंगाल): एसटीएस क्लबले स्वतन्त्रता दिवसमा म्याराथन दौड आयोजना गर्यो। हरेक वर्ष झै यस पटक पनि क्लबले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा म्याराथन दौडको आयोजना गरेको हो। दौडमा टाढा–टाढाका प्रतियोगीहरुको सहभागिता रहेको थियो। विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरियो। १२ किलोमिटर म्याराथन धुपगुरी सोनतला हाटबाट शुरु भई एसटीएस क्लब अगाडि टुंगिएको क्लबका अधिकारीहरूले बताएका छन्।

धुपगढीको गौरव र ईस्ट बंगाल क्लबका उदीयमान खेलाडी देवजीत रोयले म्याराथन दौडको उद्घाटन गरे। प्रतियोगिताको अन्त्यमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुने सहभागीहरुलाई क्लबले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे। ३३ मिनेटमा म्याराथन पूरा गर्ने राजकुमार राय यादव, अयोध्या, उत्तर प्रदेशले प्रथम, दोस्रो स्थान इस्लाम अली (लखनउ) र तेस्रो स्थान शैलेश कुसुवा (प्रयाग राज)ले जिते। धुपगढीको माटोमा पहिलो पटक पाइला टेकेर नयाँ नगद पुरस्कार र पदक पाएपछि उनी निकै उत्साहित देखिन्थे। उनले प्रारम्भिक चरणमा नै यो सफलता पाएको र आगामी दिनमा पनि यस प्रतियोगितामा सहभागी हुने बताए।