टुङ नागाका प्रकोप पिडीतहरूलाई अस्थायी पुनर्वासको व्यवस्था

IMG-20240814-WA0334

गान्तोक: गत वर्ष अक्टोबर महिनामा आएको भीषण भल-बाढ़ी अनि त्यसपछि पटक पटक गएको पैह्रोबाट प्रभावित तथा विस्थापित उत्तर सिक्किमको टुङ नागा जीपीयुअन्तर्गत टुङ, रेल र नागा वार्डका २० परिवारलाई सुरक्षित स्थान र आवासको अस्थायी व्यवस्थापन गरिएको छ। उल्लेखनीय छ, आपदा प्रबन्धन ऐनको धारा ३४ अन्तर्गत जिल्लापालको पहलमा यो कार्य भएको हो।
जिल्ला प्रशासनले अहिलेलाई प्रभावित २० परिवारका जम्मा ८७ जना सदस्यको निम्ति सिङ्गिकस्थित टुरिस्ट लजमा अस्थायी आवासको व्यवस्था गरिएको छ। आज एउटा कार्यक्रमबीच लाचेन मंगन समष्टिका विधायक तथा मन्त्री सामडुप लेप्चाको बाहुलीबाट विस्थापित परिवारहरूलाई अस्थायी आवासको आदेशपत्र प्रदान गरियो। मन्त्रीले जिल्ला प्रशासनको सहयोगमा सरकारले निकट भविष्यमा स्थायी समाधान गर्न कुनै कसर बाँकी नराख्ने प्रभावित परिवारहरूलाई आश्वासन दिए। यस अवसरमा जिल्लापाल अनन्त जैन, पुलिस अधिक्षक सोनाम डिचु भोटिया साथै अन्य शीर्ष अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
विस्थापित परिवारहरूलाई टुरिस्ट लजको अस्थायी आवासमा पुनर्वास गर्ने जिम्मेवारी तीन जना जिल्ला पञ्चायतहरूको सहयोगमा मंगन खण्ड प्रशासनिक केन्द्रलाई सुम्पिइएको छ। उल्लेखनीय छ, नागा अनि वरपर क्षेत्रका टिस्टा बाढ़ी अनि पैह्रो प्रभावित परिवारहरूलाई पुनर्वास नगरिएको भन्दै हालका दिनमा निकै विरोध भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement