खरसाङ: वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको निधनमा तीनधारे महानदी समष्टिको शिवखोलामा अवस्थित आईएनए मेमोरियल माध्यमिक विद्यालयमा शोक सभा आयोजना गरिएको छ। हस्त नेचाली आईएनए मेमोरियल माध्यमिक विद्यालयको संस्थापक र मुख्य संरक्षक पनि रहेका थिए। उनी तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको मात्र प्रधान अध्यापक नभएर सम्पूर्ण तीनधारे क्षेत्रको साहित्य, समाज, शिक्षा र खेलकूद क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। उनको निधन गत १२ अगस्तको दिन भएको थियो। उनको दु:खद निधनमा आईएनए मेमोरियल माध्यमिक विद्यालयमा शोक सभा आयोजना गरेर दुई मिनटको मौन धारण गरिएको छ। उक्त शोक सभामा विद्यालयको शिक्षक शिक्षिकाहरू, अशिक्षणकर्मीहरू र विद्यार्थीहरूको तर्फबाट उनलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। विद्यालयको पक्षबाट हस्त नेचालीको निधनमा शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। उक्त शोक सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आईएनए मेमोरियल माध्यमिक विद्यालयको सह शिक्षक युवराज सुन्दासले हस्त नेचाली तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको मात्र प्रधान अध्यापक नभएर सम्पूर्ण तीनधारे क्षेत्रको साहित्य, समाज, शिक्षा, खेलकूद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्ति रहेको बताएका छन्।

उनले सरको दु:खद निधनमा विद्यालय परिवार मर्माहत बनेको बताउँदै हस्त नेचालीले आईएनए मेमोरियल माध्यमिक विद्यालयको संस्थापक र मुख्य संरक्षक रहेको बताएका छन्। उनले हस्त नेचालीले विद्यालयलाई अभिभावकले जस्तै सुझाव सल्लाह दिने गरेको पनि बताएका छन्। यस शोक सभामा आईएनए मेमोरियल माध्यमिक विद्यालयको शिक्षकहरू, विद्यार्थीहरू उपस्थित रहेका थिए। उल्लेख्य छ हस्त नेचालीको सुपुत्र त्रिलोक नेचाली आईएनए मेमोरियल माध्यमिक विद्यालयको सह शिक्षक हुन्।










