आगामी सिजन लाग्नु अघि नै हामी पसल उपलब्ध गराउनेछौं: अनित थापा
दार्जिलिङ: जीटीए चिफ् अनित थापा, दार्जीलिङ नगर अध्यक्ष दिपेन ठकुरीले आज दार्जीलिङ मल रोडबाट उच्छेद गरिएका पसलेहरूसँग मल रोडमा भेट गरेका छन्। पसलेहरूसँग भेटघाट गरेपछि थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै आजदेखि दार्जीलिङको जनतालाई मेरो तर्फबाट मात्र नभएर सम्पूर्ण हकर्सको तर्फबाट स्वच्छ अनि सफा मल रोड उपहार स्वरुप प्रदान गर्दैछौँ भनी बताएका छन्। अनित थापाले भने, निर्माण कार्य स्वन्तन्त्रता दिवस समारोहको समापन पश्चात हुनेछ। दार्जीलिङ हकर्सकाे निम्ति निर्माण हुने भवनको निम्ति फण्ड आवन्टन भईसकेको छ। निर्माण कार्य गर्दा यहाँको कुनै पनि रूख पात नष्ट गर्ने छैनौँ। सबै जोगाइने छ। हामीले एउटा असल आर्किटेक्चरलाई काम सुम्पेका छौं। थापाले अझ भने निर्माण पूरा गर्ने हाम्रो लक्ष्य तीन महिनाको रहेको छ। बाटो बाटोमा पसल थापेर जीविकोपार्जन गर्नेहरूलाई पनि राम्रो ठाउँ दिनेछौँ। सबैलाई स्थापित गरेपछि दार्जीलिङको कुनै पनि फुटपाथमा दोकान थापिनु हुन्न। निर्माण हुने भवनमा उहाँहरूलाई ढलाई सकेपछि नै ठाउँ दिनेछौँ। पूर्ण भवनको निर्माण हुँदै गर्नेछ। आगामी सिजन लाग्नु अघि नै हामी उहाँहरूलाई पसल उपलब्ध गराउनेछौं। मल रोड सफा अनि स्वच्छ हेर्ने मानिसको इच्छा थियो। हकर्सले पनि इच्छा बुझ्नु भयो।”
उनले अघि भने, ‘१५ अगस्तभन्दा अघि मल रोड खाली गर्छु भनेर हकर्सहरूले वचन दिनु भएको थियो। त्यही वचन अनुरूप उहाँहरूले आजदेखि मल रोड खाली गरिदिए।’
दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले ठूलो घोषणा गर्दै भने, आजदेखि दार्जीलिङको मल रोडलाई नो भेन्डिङ जोनमा परिणत गरिएको छ। दार्जीलिङको अत्यन्त महत्वपूर्ण जग्गालाई आज अनित थापाको पहलमा दार्जीलिङको जनतालाई फिर्ता दिनु सक्यौं।’