गान्तोक: ७८औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको हर-घर तिरंगा अभियान अन्तर्गत आज सिक्किमका विभिन्न स्थानमा भाजपा सिक्किमका कार्यकर्ताहरूद्वारा राष्ट्रिय ध्वज फहराउने तथा वितरण गर्ने कार्य सम्पन्न गरियो। १३ देखि १५ अगस्तसम्म चल्ने यस कार्यक्रम अन्तर्गत भाजपा सिक्किमले राज्यका सबै शहरदेखि गाउँ-गाउँसम्म १२ हजारभन्दा अधिक राष्ट्रिय ध्वज वितरण अभियान तथा यसबारे सचेतना फैलाउने कार्य गरिरहेको छ।
यसै क्रममा आज राजधानी गान्तोकको एमजी मार्ग अनि संलग्न क्षेत्रहरूमा भाजपा कार्यकर्ताहरूले स्थानीयवासीमाझ राष्ट्रिय ध्वज वितरण अभियान चलाए। सोही प्रकारले राज्यका सबै निर्वाचन क्षेत्रमा स्थानीय कार्यकर्ताहरूको पहलमा प्रत्येक घरमा राष्ट्रिय ध्वज पुऱ्याउने र फहराउने कार्य निरन्तर चलिरहेको छ भने भोलि बेलुकासम्म १२ हजारभन्दा अधिक ध्वज वितरण गरिसक्ने लक्ष्य राखिएको छ।
स्मरण गराइन्छ, आजादीको अमृत महोत्सव अथवा ७५ वर्षदेखि शुरू भएको यो हर घर तिरंगा अभियान प्रतिवर्ष स्वतन्त्रता दिवसको अवसरमा विगत ३ वर्षदेखि लगातार चलाइँदै आएको छ।