गान्तोक: तृणमूलस्तरमा लोकतन्त्रलाई बलियो बनाउन र स्थानीय शासनको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने दिशामा एउटा महत्त्वपूर्ण पहल गर्दै भारत सरकारले १५ अगस्त, २०२४ मा दिल्लीको लाल किल्लामा ७८औँ स्वतन्त्रता दिवस समारोहका लागि पञ्चायती राज संस्थाहरूका लगभग ४०० निर्वाचित महिला प्रतिनिधि र निर्वाचित प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ। उक्त अवसरमा सिक्किम राज्यबाट तिङ्भोङ जीपीयूकी पञ्चायत सभापति श्रीमती लाकित लेप्चालाई स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिको रूपमा सामेल हुनका लागि निमन्त्रणा गरिएको छ। उनको सहभागिताले स्थानीय नेताहरूलाई सशक्त बनाउने र लोकतान्त्रिक प्रक्रियामा अधिक समावेशितालाई बढावा दिनका लागि सरकारको प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ।
स्वतन्त्रता दिवस कार्यक्रममा भाग लिनकासाथै श्रीमती लेप्चाले महिला नेतृत्व सम्बन्धी एक राष्ट्रिय कार्यशालामा पनि भाग लिनेछिन्, जुन विशेष गरी पीआरआईका महिला निर्वाचित प्रतिनिधिहरूका लागि तयार गरिएको छ। १४ अगस्त, २०२४ मा नयाँ दिल्लीमा तय भएको यस कार्यशालाको उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि गर्ने र स्थानीय शासनमा महिलाहरूले सामना गर्ने चुनौती र अवसरहरूमाथि चर्चा गर्न एक मञ्च प्रदान गर्दछ।
केन्द्रीय पञ्चायती राज तथा मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंह (उर्फ लालन सिंह) र पञ्चायती राज तथा मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास राज्यमन्त्री प्रोफेसर एस पी सिंह बघेलले नयाँ दिल्लीको जनपथस्थित डा. अम्बेडकर अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित एक विशेष समारोहमा ईड्ब्ल्यूआर र ईआरलाई सम्मानित गर्नेछन्।