गान्तोकः सिक्किम एकाडेमीको तत्वावधानमा आज राजधानीमा नेशनल लाइब्रेरियन डे पालन गरियो। स्थानीय ममन केन्द्रमा आयोजित कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि रहेका थिए भने वरिष्ठ साहित्यकार तथा सिक्किम एकाडेमीका पूर्व अध्यक्ष पद्मश्री सानु लामा विशिष्ट अतिथि रहेका थिए। उल्लेखनीय छ, भारतमा पुस्तकालय विज्ञानका जनक तथा पुस्तकालय विज्ञानको पाँच नियमका प्रणेता पद्मश्री डा. एसआर रङ्गनाथनको जन्मदिन १२ अगस्तको दिनलाई देशभरि राष्ट्रिय लाइब्रेरियन डे-को रुपमा पालन गरिन्छ।
आजको कार्यक्रममा सिक्किम राज्यमा पहिलोपल्ट निजी पुस्तकालय स्थापना गर्ने दक्षिण सिक्किमको तिमी तार्कु निवासी स्व. गोवर्धन प्रधानलाई मरणोप्रान्त अभिनन्दन पनि जनाइयो। सिक्किम एकाडेमीले तीन महिनाको समय लगाएर सिक्किममा पहिलो पुस्तकालय निर्माण गर्ने व्यक्तिको खोजी गरेको हो। एकाडेमीको दावीअनुसार वर्ष १९५६मा स्व. प्रधानले तिमी तार्कुमा श्री मनोविज्ञान पुस्तकालयको स्थापना गरेका थिए। स्व. प्रधानका परिवारका सदस्यहरूले अभिनन्दन ग्रहण गरे।
कार्यक्रममा नरबहादुर भण्डारी सरकारी महाविद्यालकी लाइब्रेरियन श्रीमती दिना सुब्बाले पुस्तकालयमाथि वार्ता प्रस्तुत गरिन् भने राज्यका तीनवटा महाविद्यालयहरू नरबहादुर भण्डारी सरकारी महाविद्यालय, बुर्तुक महाविद्यालय र सिक्किम कानून महाविद्यालयबीच पुस्तकालय विषयमाथि भाषण प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा कानून महाविद्यालय प्रथम, नरबहादुर भण्डारी सरकारी महाविद्यालय दोस्रो र बुर्तुक महाविद्यालय तेस्रो बन्यो। यसरी नै कार्यक्रममा पद्मक्षी सानु लामाले पनि पुस्तकालयमाथि आफ्नो विचार राखेका थिए भने विभिन्न कविहरूले सम्बन्धित विषयमा कविता पाठ गरे।
आफ्नो सम्बोधन राख्ने क्रममा मुख्य अतिथि मन्त्री राजु बस्नेतले वर्तमान समयमा पुस्तकालयको प्रासङ्गिकतामाथि प्रकाश पारे। यसकासाथै उनले राज्यका विद्यालयहरूमा पुस्तकालय र प्रयोगशालाहरूको खराब अवस्थामाथि दुःख पनि व्यक्त गरे। पुस्तक अध्ययनको महत्वबारे बोल्दै पुस्तकले जतिको गहन ज्ञान अरु कुनै पनि माध्यमबाट पाउन नसकिने मन्त्री बस्नेतले बताए। यसै सन्दर्भमा बोल्दै उनले हालको समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवाहरूमा अध्ययन संस्कार साथै अकाग्रतामा पनि कमी आइरहेको उनले थप बताए।









