सोरेड: सोरेङको जौटार खेलमैदानमा ७८औं स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै सम्पन्न १४औं दिनको कार्यक्रममा सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघका संयोजक तथा समाजसेवी दिनेश पेगा मुख्य अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा समारोह समितिका संरक्षक एवं पूर्व विधायक आदित्य गोले, समारोह समितिका अध्यक्ष एवं जिल्लापाल धिरज सुवेदी, सोरेङ जिल्लाका पशुपालन तथा पशुसेवा र मत्स्यपालन विकास विभागका अधिकारीगण, सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघका प्रतिनिधिगण, समारोह समितिसँग आबद्ध मुख्य कार्यसमिति र उपसमितिका सदस्यगण, संघ-संस्थाका प्रतिनिधिगण, भूतपूर्व सैनिक, सेवानिवृत्त कर्मचारीगण, आमन्त्रित अतिथिगण, आमदर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
सोरेङको जौटार खेलमैदानमा जारी जिल्ला स्तरीय अन्तर विभागीय फुटबल टुर्नामेन्ट अन्तर्गत आज दुईवटा सेमिफाइनल खेल सम्पन्न भयो। आज खेलिएको पहिलो सेमिफाइनल म्याचमा भू-राजस्व तथा आपदा प्रबन्धन विभागले पुलिस विभागलाई ट्राइब्रेकरमा परास्त गरेर फाइनलमा प्रवेश गरे। निर्धारित समयसम्म एकएक गोलले खेल बराबरीमा समाप्त भएपछि खेलको नतिजा ट्राइब्रेकरको सहायताबाट भएको हो। दोस्रो सेमिफाइनल म्याच सडक एवं पुल विभाग र विद्युत विभागमाझ खेलियो। निर्धारित समयसम्म दुवै टिमले कुनै गोल गर्न नसकेपछि ट्राइब्रेकरमा सडक एवं पुल विभागले बिद्युत विभागलाई परास्त गरे।
आज बिहान जौटार खेलमैदानबाट नशा मुक्त भारत अभियान अन्तर्गत नशारहित गाउँ, शहर, राज्य र देश बनाउनका निमित्त सर्वसाधारणमा जागरुकता फैलाउन बाइक र्यालीको पनि आयोजना गरियो। उक्त बाइक र्यालीमा पूर्व विधायक आदित्य गोले, जिल्लापाल धिरज सुवेदीसहित सोरेङ जिल्लाका शीर्ष अधिकारीहरुले पनि सहभागिता जनाएका थिए।









