खरसाङ: वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको सोमबार ८५ वर्षको उमेरमा निधन भएको छ। उनलाई मस्तिष्कघात भएपछि विगत ४-५ दिनदेखि सिलगढीको निजी नर्सिङ होममा उपचारक लागि राखिएको थियो भने केही सुधार नभएपछि दार्जिलिङको उपचारको लागि लगिएको थियो। यसावधि उनको निधन भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि एक छोरा -बुहारी, चारजना छोरीहरू र ज्वाईहरू साथै नाता नातिनीहरू छोड़ी गएका छन्। वरिष्ठ साहित्यकार हस्त नेचाली साहित्यकार साथै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक पनि थिए। उनको अन्तिम संस्कार पैतृक गाउँ दार्जिलिङ जिल्ला अन्तर्गत पुसुम्बिक चियाबारीमा मंगलबार सम्पन्न हुने पारिवारिक सुत्रबाट जानकारी प्राप्त भएको छ। उनी अन्तिमपल्ट तीनधारेमा गत १४ जुलाईको दिन आफ्नो भूतपूर्व विद्यार्थी युवराज सुन्दासद्वारा लिखित कविता संग्रह ‘पेण्डुलम’को लोकार्पणमा आएका थिए। यस अघि गत ६ अप्रेल २०२४ उनकै भूतपूर्व विद्यार्थीहरूद्वारा ‘गुरु दक्षिणा : श्री हस्त नेचाली अभिनन्दन ग्रन्थ’ प्रकाशित गरेका थिए। युवराज सुन्दास र डा अमीर दर्जीद्वारा सम्पादित उक्त अभिनन्दन ग्रन्थको लोकार्पण सालबारीमा भएको थियो। हस्त नेचाली राईको जन्म ३ अप्रेल १९३९ सालमा दार्जिलिङ जिल्ला अन्तर्गत पुसुम्बिङ चियाबारीमा भएको थियो। उनले १९७० मा तीनधारे प्राथमिक पाठशालामा अनि उनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा सन् १९७२ देखि १९९९ सम्म कार्य गरेका थिए भने सन् १९९६ देखि उनी प्रधान अध्यापकको रूपमा कार्यरत् थिए। उनको कृतिहरूमा प्रबन्ध रचना र व्यकरणका केही नियमहरू-१९७३, अनन्त प्रतिक्षा, कथा संग्रह-१९७८, डिग्री साहित्यको इतिहास अनुवाद-१९८३, समीक्षा संकलन- १९८४, केही चिन्तन : केही मनन-२००२, समयको बालुवामाथि केही पाईला छापहरू-२००९, भारतेली नेपाली साहित्य स्रष्टाहरू-२०१० र २०१६, नेचाली (वाहिक) राईको धार्मिक र सांस्कृतिक परम्पराहरू-२०११, समर्पण सामाजिक मौलिक नाटक र पाँच रेडियो नाटकहरू-२०१४, अनौठो सम्झौता (कथा संग्रह)-२०१६, घाम छाँयाको जिन्दगीमा-२०१९ लगायत पाठ्य पुस्तकहरू लेखन र सम्पादन साथै विद्यार्थीहरूको लागि पुस्तकहरू लेखनमा पनि कार्य गरेका थिए। उनले विभिन्न पुस्तक, पत्रिकाहरू सम्पादन गरिसकेका थिए। उनले शिक्षा क्षेत्रमा दागोपापकालमा लाइप टाइम एचिभमेन्ट अवार्ड २०१९ प्राप्त गरेका थिए भने २००८ मा खरसाङबाट अरूगि पुरस्कार र २०१८ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट ‘नेपाली साहित्य सम्मेलन पुरस्कार’ प्राप्त गरेका थिए।









