लखनऊ (उत्तर प्रदेश): कवि, पत्रकार तथा हिन्दी चित्रपट संगीतका गीतकार गोपालसिंह नेपालीको ११३औँ जयन्ती समारोहमा व्यक्तित्व र कृतित्वविषयक एकदिने सङ्गोष्ठी तथा कविसम्मेलन राखिएको थियो। गोर्खा भारती फाउन्डेसन, गोर्खा सहयोग एसोसिएसन, भारतीय गोर्खा कल्याण समिति अनि गोर्खा कल्याण समितिको सह-आयोजकत्वमा पालन गरिएको प्रस्तुत समारोहमा भारतीय उच्च न्यायालयका अधिवक्ता तथा समाजसेवी अमृत सिञ्चुरी सभाध्यक्ष रहेका थिए भने काशी हिन्दू विश्वविद्यालयअन्तर्गत भारतीय भाषा विभागका अध्यक्ष प्रो० दिवाकर प्रधान मुख्य अतिथिका रूपमा उपिस्थत थिए।
सनातन गोर्खा कल्याण समितिका कार्यकर्ता तथा भाजपा प्रभारी गौरव सिंहले कवि नेपालीलाई भारतका राष्ट्रवादी कविका रूपमा परिचित गराए भने वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सहायक प्राध्यापक डा० अमित थापाले भारतीय राष्ट्रिय मूल धारामा विभिन्न स्थान, जाति, धर्म तथा संस्कृतिलाई जोड्नमा कवि नेपालीको अवदानबारे चर्चा गर्दै कवि नेपालीको कविता ‘मेरा धन है स्वाधीन कलम’ आवृत्ति गरे। काशी हिन्दू विश्वविद्यालयका शोधार्थी अभिषेक कोइरालाले कवि गोपालसिंह नेपालीका प्रकृतिपरक रचनालाई संस्कृतका महाकवि कालिदासका केही रचनासँग तुलनात्मक विमर्श प्रस्तुत गरे।
प्रमुख अतिथि प्रो० प्रधानले गोपाससिंहका विभिन्न व्यक्तित्वबारे सटीक चिनारी प्रस्तुत गर्दै राष्ट्रिय सम्मान, भारतका प्रमुख नगरमा मूर्ति स्थापना, भारतीय विश्वविद्यालयमा गोपालसिंह पीठ तथा संस्कृति र सञ्चार मन्त्रालयद्वारा प्रतिष्ठा अपेक्षित रहेको बोध गराए। सभाध्यक्ष सिञ्चुरीले गोपालसिंह नेपाली राष्ट्रिय स्मारक समिति प्रस्तावित गर्दै उक्त समिति गोपाल प्रतिष्ठामा प्रयासरत रहनुपर्ने आवश्यकता इङ्गित गरे। यस एकदिवसीय समारोहमा हिन्दी साहित्यकार तथा स्थानीय गोर्खा समूह उपस्थित थिए। समारोहमा केही युवाहरूले कवि नेपालीका कवितावाचन गरे। कार्यक्रम सञ्चालिका काहिविविकी छात्रा सङ्गम थापाले धन्यवाद ज्ञापन गरेपछि सभाध्यक्षले समासमापन भएको घोषणा गरे।









