सिलगढी: सिलगढीबाट राष्ट्रिय राजमार्ग ३१ मा बागडोग्राको मुनि चिया बगानको छेउमा हाउडिजोतमा भएको दुर्घटनामा सात यात्रुको मृत्यु भएको भने अन्य घाइते भएका छन्। आज तृणमूल कांग्रेस नेता तथा दार्जीलिङ जिल्ला (समताल) तृणमूल कांग्रेस जिल्ला अध्यक्ष पापिया घोष घाइतेहरूलाई भेट्न उत्तर बंगाल मेडिकल कलेज पुगिन्। उनले घाइतेहरुलाई भेटेर पीडित परिवारलाई सान्त्वना दिइन्। शिवजीलाई जल अर्पण गर्न भक्तजन गएका थिए, तर अनियन्त्रित वाहनको ठक्करबाट ७ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्। उनले भनिन्, ‘यो दुर्घटनाको खबर पाएलगत्तै म उत्तर बंगाल मेडिकल कलेज अस्पताल पुगें। घाइतेहरुको राम्रो उपचार भइरहेको छ।‘ उनले आफ्ना प्रियजन गुमाएकाहरुप्रति समवेदना रहेको बताइन्। उनले घाइतेहरूलाई तुरुन्तै उत्तर बंगाल मेडिकल कलेज अस्पताल पुर्याउने आम जनता र सबैलाई धन्यवाद दिइन्। उनले सरकार र आफू पीडित परिवारको साथमा रहेको बताइन्।









