झापा: नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको उत्तरतर्फ पर्ने काँच्यो क्षेत्रमा नयाँ झरना पत्ता लागेको छ। सो क्षेत्रमा रहेको ताल हेर्न जाने क्रममा लिमीको हल्जी गाउँका स्थानीयले सो झरना पत्ता लगाएका हुन्।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष लिमीको हल्जी गाउँको उत्तरको काँच्यो भन्ने स्थानमा झरना (स्थानीय भाषामा ख्याकाप) पत्ता लागेको र जुन निक्कै अग्लो रहेको बताए। उक्त झरना करिब डेढ सय मिटर अग्लो रहेको बताउँदै उनले यो पर्यटकीय क्षेत्र समेत रहेको बताए।
उनले आफुसहित हल्जी गाउँका स्थानीय युवाहरु काँच्यो क्षेत्रमा रहेको तालको अवलोकन गर्न जाने क्रममा आकाशमा मौसम सफा भएका कारण उक्त झरना पनि पत्ता लागेको बताउछन्।
निक्कै अग्लो स्थानमा रमणीय देखिने झरनाका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने उनले बताए। उक्त क्षेत्र पाँच हजार दुई मिटर उचाइमा रहेको तर बाटोको व्यवस्था समेत नभएका कारण ताल जस्तै झरना पनि ओझेलमा पर्ने उनले बताए। उक्त स्थानमा पुग्न निक्कै जोखिम समेत रहेको कारण जो कोही जानै नसक्ने अवस्था रहेको छ।









