गान्तोक: राज्यका राई समुदायप्रति मुख्यमन्त्रीले पुऱ्याएको योगदानको कदर गर्दै आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अखिल किराँत राई संघद्वारा आयोजित एक कार्यक्रमबीच अभिनन्दन जनाइयो।सोही प्रकारले मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, विधायक कला राई र मन्त्री भोजराई राई पनि सम्मान जनाइयो।
अखिल किराँत राई संघको पहलमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सरकार साथै आफूले प्रत्येक व्यक्तिलाई लाभ पुऱ्याउन नसके तापनि सबै संघ संस्थाहरूको हितमा काम गर्न आफू सदैव तत्पर रहेको बताए। उनले एसकेएम पार्टी सरकारमा आएदेखि यता सबै जात र धर्मलाई बराबर सम्मान गर्दै उनीहरूको कल्याण हेतु सरकारले काम गर्दै आइरहेको दाबी गरे।
उनले राई समुदायलाई संस्थाको माध्यमद्वारा एकताको सुत्रमा बाँधिएर जातिको हित र उत्थानको निम्ति काम गर्न सुझाउ दिए। उनले सबै संघ संस्थाका प्रतिनिधिहरूलाई संस्थाको हितमा काम गर्नको निम्ति सरकारलाई प्रस्ताव बुझाउन आह्वान गर्दै सरकारले उक्त विषयमाथि पहल गर्ने आश्वासन दिए। मुख्यमन्त्री तामाङले हालैमा सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा नाम्ची सिङ्गीथाङबाट विजयी बनेकी कृष्ण कुमारी राईले जितेको तत्कालनै राजीनामा दिएपछि अहिले नाम्चीमा कुनै विधायक नरहेको, तर आगामी दिनमा उक्त निर्वाचन क्षेत्रमा उपचुनाउ हुने र सो चुनाउमा राई समुदायबाट नै एक जनालाई पार्टीले टिकट दिने विश्वास दिलाए।
उनले आगामी दिनमा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका जनताले तीन जना विधायक पाउने बताए। उनले एकजना पूर्व विधायक कृष्ण कुमारी राई, आफू स्वंय र हुनेवाला विधायक लगायत कूल तीन जना विधायक भएपछि त्यस निर्वाचन क्षेत्रका जनताले धेरै लाभ उठाउन सक्ने बताए। यसै क्रममा अखिल किराँत राई संघले चढाएको मागलाई स्वीकार्दै उनले नाम्चीको किसान बजारमा संस्थाको निम्ति कार्यालय प्रदान गर्ने र यसको निम्ति मन्त्री भोजराज राईलाई पहल गर्न सुझाउ दिए। उनले सुनौलो सिक्किम, समवृद्धि सिक्किम निर्माणको निम्ति राज्यका सम्पूर्ण जनता लगायत सबै संघ संस्थाले पनि सहयोग पुऱ्याएर सरकारको योजना र परिकल्पनालाई साकार तुल्याउनु आग्रह गरे।
सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण कुमारी राईले यस प्रकारको भव्य र सभ्य कार्यक्रम आयोजना गरेर हौसला साथै प्रोत्साहित गरेको बताइन। यस प्रकारको कार्यक्रम आयोजना गर्नाले आफ्नो जातिको भाषा, साहित्य र संस्कृतिको पहिचान दिनको साथै संरक्षणमा ठूलो टेवा पुग्ने मन्तव्य व्यक्त गरिन्।
यसरी खुल्ला रूपमा कार्यक्रम आयोजना गर्नु र सबैजना खुलेर कार्यक्रममा सहभागिता जनाउन सक्ने वातावरण वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले सिर्जना गरेको अवगत गराइन्। यस भन्दा अघि यसरी खुल्लारूपमा कार्यक्रम आयोजना गर्नको निम्ति धेरै सोच्नुपर्ने र त्यहाँ जानको निम्ति सोच्नुपर्ने स्थिति थियो भनिन्। वर्तमान सरकारले राई समुदायको हितमा धेरै काम गरेको र सहयोग पुऱ्याउँदै आइरहेको पनि उनले बताइन्।
सोही प्रकारले मन्त्री भोजराज राईले आफ्नो सम्बोधनमा आफू मन्त्री हुनुमा मुख्यमन्त्री तामाङको आशीर्वाद रहेको बताउँदै यदि आफूलाई मुख्यमन्त्रीले टिकट नदिएको भए आफू एक साधारण व्यक्तिको रूपमा जिवन निर्वाह गर्दै आइरहेको हुने जानकारी गराए। उनले आफू शुरूदेखि नै मुख्यमन्त्रीको साथमा रहेको र सदैव सुख र दुखमा एकसाथ रहने बताए। आफ्नो पाँच वर्षको कार्यकालमा एक मिनट पनि व्यर्थ नफ्याँकी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
सोही प्रकारले कार्यक्रममा विधायक कला राईले सम्बोधन गर्दै अहिलेसम्म पनि राई समुदायहरू मूलधारामा आउन नसकेको बताइन्। राई जातिको मुख्यमन्त्रीको कार्यकालमा पनि राईहरूको विकास नभएको उनले दावी गरिन्। मूलधारामा जोडिॅंदा पितृ रिसाउँछ साथै आफ्नो संस्कार र संस्कृति मासिन्छ भन्ने धारणा अहिलेसम्म यथावत रहेको उनले बताइन्।









