खरसाङ: खरसाङ थाना पुलिस र गजोल पुलिस थाना मालदाको संयुक्त ओपरेशनमा मालदाको गजोल पुलिस थाना क्षेत्रमा रहेको को-ओपरेटिभ ब्यांक लुटेर भोगेका दुईजना डकैतहरूलाई खरसाङको नयाँ बजार क्षेत्रबाट पक्राउ गरिएको जानकारी प्राप्त भएको छ। दुवै डकैतहरूलाई आज बिहान स्वास्थ्य जाँच गरेर खरसाङ थानामा ल्याइएको छ। यहाँको सबै औपचारिकता पूरा गरेर भोलि सोमबार गजोल पुलिस थाना मालदा लगिने भएको जानकारी प्राप्त भएको छ। यस संयुक्त पुलिस ओपरेशनमा खरसाङ थाना पुलिस प्रभारी पलाश महोतो र गजोल पुलिस थानाका प्रभारी याङ तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार उक्त दुई आरोपी अनि अन्य छजनाले गत २४ जुलाईमा गजोल थाना क्षेत्रमा रहेको एउटा सहकारी ब्यांक दिउँसो हतियार लिएर डकैती गरेका थिए। जम्मा ६ जना आरोपीहरूमध्ये ४ जनालाई अघि नै पक्राउ गरिएको थियो भने हिजो राति रहल दुईजनालाई पनि पक्राउ गरिएको छ। पक्राउ गरिएको दुईजना आरोपीहरूबाट पुलिसले एउटा पिस्तोल र नगदराशि एक लाख चौध हजार रूपियाँ पनि जफ्त गरेको छ। प्राप्त जानकारी अनुसार यह दुई डकैतहरू गत ४ अगस्तदेखि खरसाङको नयाँ बजार क्षेत्रमा एउटा घर किरायामा लिएर बस्दै आईरहेका थिए। दुईजनामध्ये एकजनाको फोन ट्रैक गरी यस ओपरेशनलाई सफल पारिएको थियो। यसभन्दा अघि एक रातको लागि उनीहरू खरसाङको एक प्रसिद्ध होटलमा बसेका थिए। दुवैजनाले नयाँ बजारको एकजना महिलाको सहयोगमा घर किरायामा लिएका थिए। यता खरसाङका थाना पुलिस प्रभारीले सबै घर मालिकहरूलाई कोही किरायदारहरू राख्दा सबै प्रकारका आवश्यक कागत पत्रहरू हेरेर साथै पुलिस थानामा पनि जानकारी दिने जनताप्रति अपिल गरेका छन्।











