- जमिनदाता: खोका विश्वकर्म र श्रीमती गङ्गा विश्वकर्म’
- करिब पाँच लाखको हाराहारीमा सिलगढी देवकोटा संघद्वारा ‘वृद्धाश्रम’को घर निर्माण
खरसाङ: ‘‘म तिमीहरूलाई टुहुरा छोडने छैनँ, म तिमीहरूकहॉं आउनेछु।’’ १४-१८ यूहन्ना। बाइबलका यी सुसमाचार ती जो साहाराविहीन भएर बेस्याहार जिन्दगी जिउँदै गरेका मानिसहरूका जीवनमा अतिनै सान्दर्भिक साथै प्रेरणादायक छ। साहाराविहीनहरूको साहारा खरसाङ बजारदेखि करिब ६ किलोमिटर टाडो मध्य खहरे बस्तीमा गएको केही वर्षदेखि ‘वृद्धाश्रम’ संचालन हुँदै आएको छl यही ‘वृद्धाश्रम’को नयाँ बनिएको घर आज (११ अगस्त) उद्घाटन गरिएको छl यस ‘वृद्धाश्रम’को मूल दैलोको माथि बाइबलको सुमाचार यसरी लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइने छ-मत्ती २१:१३l’

सन् २००८ देखि नै धरै असहाय मानिसहरुलाई सहयोग गर्दै आइरहेकी ‘सहयोगी हात’की संस्थापक सुमित्रा राईले कयौं चुनौतीहरू र संघर्षको सामना गर्दै वृद्धाश्रम खडा गरेकी हुन्l आजदेखि उनलाई सिलगढीको पुरानो संस्था सिलगढी देवकोटा संघबाट सशक्त उर्जाका प्राप्त भएको छl सिलगढी देवकोटा संघले खहरे बस्तीमा अवस्थित ‘सहयोगी हात’द्वारा संचालित ‘वृद्धाश्रम’को नयाँ घर निर्माण गरिदिएको छl ४ लाख ९८ हजार ३ सय ६६ रुपियाँको खर्चमा यो वृद्धाश्रम सिलगढी देवकोटा संघले निर्माण गरिदिएको होl अब त्यहाँ वृद्धाश्रममा आश्रय लिएर बसेकाहरू सबैका लागि असल घर बनिएको छl आज यस घरको विधिवत उद्घाटन गरिएको छl यस भवन निर्माणका लागि मानव मूल्य र मानव सेवा कार्यलाई अन्तर्मनबाट बुझेका दुई दम्पति खोका विश्वकर्म र श्रीमती गङ्गा विश्वकर्मले आफ्नो जमिन वृद्धाश्रमलाई दिएका छन्l

यो वृद्धाश्रमको लागि घर निर्माण गर्नका लागि सिलगढी देवकोटा संघलाई ईश्वरले मौका दिएको संघका अध्यक्ष मिलन रुचाल (आयकर आयुक्त)ले आफ्नो सम्भाषणमा बताएl देवकोटा संघले विभिन्न कार्यक्रमहरू आयोजना गरेको रकमबाट ८५ प्रतिशत यस्तै विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्ने गरेको उनले बताएl उनले भने, ‘हामी यस्तो समाजको कल्पना गरौँ, जहाँ जहाँ कुनै अनाथ आश्रम नहोस् कुनै वृद्धाश्रम नहोस्l प्रत्येक घरमा यस्तो आश्रम होस् त्यहाँ हाम्रा बुढाबुढीहरू, नानीहरू यस्तो हाँसेर खेलेर आफ्नो जीवनको अन्तिम श्वास फेर्न सकोस्l’ उनले वृद्धाश्रममा आउने सबैको स्वास्थ्य लाभको कामना गरेl राम्रो कामको लागि सबैलाई एक हुने उनले आग्रह गरेl

यो वृद्धाश्रमको अवस्था सोचनीय रहेको हुँदा जमिनदाता अघि आएपछि देवकोटा संघ यो वृद्धाश्रम निर्माणको आघि आएको संघका सचिव पी टी योल्मो (सह आयकर आयुक्त)ले बताएl यो वृद्धाश्रमको घर निर्माण कार्य देवकोटा संघको ठूलो सामाजिक कार्य रहेको उनले बताएl जीटीएका सभासद श्याम शेर्पाले यस कार्यको सराहना गर्दै भने, ‘प्रार्थना गर्ने ओंठहरू भन्दा कर्म गर्ने हातहरू महान हुन्l’ उनले देवकोटा संघले गरेको कार्यको प्रशंसा गर्दै आफ्नो तर्फबाट देवकोटा संघलाई प्रशंसा पत्र संघका अध्यक्ष मिलन रुचाललाई प्रदान गरेl जीटीएका सभासद नुरी शेर्पाले वृद्धाश्रमलाई आवश्यकता पर्ने सहयोगहरूका लागि सहयोग गर्ने वचन दिएl सहयोगी हातका सदस्य हिरेन त्रिखत्रीले देवकोटा संघको कार्य र जमिनदाताको विशेष प्रशंसा गरेl ब्रीजकमल राईले संचालन गरेको कार्यक्रममा मध्य ग्राम सेवा समितिका प्रतिनिधि नवीन छेत्रीले पनि आफ्नो वक्तव्य प्रस्तुत गरेl ‘सहयोग हात’की संस्थापक सुमित्रा राईले सन् २०१७ देखि आफूले निक्कै दु:ख समस्या झेल्नु परेको कुरालाई उजागर गरिन्l मानव सेवाका लागि आफूले सर्वस्व त्यागेर अघि आएको उनले बताइन्l आफूलाई यस सेवाकार्यको लागि धेरै सर्वसाधारणबाट सहयोग प्राप्त भएको बताउँदै उनले सबैप्रति आभार प्रकट गरिन्l उनले जमिनदाता दम्पतीप्रति आभार प्रकट गरिन्l मध्य खहरे बस्तीका समाज साथै सबैले सहयोग पुर्याएको उनले बताइन्l सुमित्रा राईले सन् २००८ मा दार्जीलिङ सहयोगी हात सोसियल वेलफेयर एसोसिएसन स्थापना गरेर समाजमा साहाराविहीन बनेकाहरूका लागि साहरा बनेर कार्य गरिरहेकी छिन्l उनकी कान्छी बहिनी पिंकी विश्वकर्म पनि यसरी नै दार्जीलिङमा नमस्ते फाउन्डेसन स्थापना गरेर यस्तै सामाजिक कार्यमा सक्रिय छिन् भने माइली बहिनी पनि सामाजिक कार्यकर्ता हुन्l जमिनदाता श्रीमती गङ्गा विश्वकर्मले आफ्नो अन्तर्मनको इच्छाले मानव मूल्यलाई बुझेर जमिन दिएको बताइन्l उनले यति मात्र होइन सो गाउँमा सडकको सुविधाको लागि पनि जमिन अघिबाटै दिएकी छिन्l वृद्धाश्रमको उद्घाटन कार्यक्रममा मिलन रुचाल, पीटी शेर्पा, जमिनदाता दम्पती खोका विश्वकर्म र श्रीमती गङ्गा विश्वकर्मलाई सहयोगी हातको तर्फबाट सम्मान जनाइयो भने ब्रीजकमल राई र सञ्जय रसाइलीको निर्वाह गरेको भूमिकाको प्रसंशा गरियोl यस कार्यक्रममा खरसाङ महकुमा पंचायत समितिकी अध्यक्ष श्रीमती अनु प्रधान, पंचायत बिरेन तामाङको विशेष उपस्थिति थियोl









