गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आज ७औं जन उनमुक्ति दिवस रम्फूस्थित खेल मैदानमा भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा राज्यका मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह मुख्य अतिथिकोरूपमा उपस्थित थिए।
कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा लगायत मन्त्रीगण, विधायकगण साथै पार्टीका कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सातौं जन उनमुक्ति दिवसको अवसरमा राज्यवासीलाई हार्दिक बधाई दिए। एसकेएम पार्टीलाई दोस्रोपल्ट विश्वास गरेर जनताले जिताएकोमा उनले राज्यका जनताप्रति आभार प्रकट गर्दै धन्यवाद दिए। आजको ठीक छ वर्षअघि १० अगस्त, २०१८ मा आफू जेलमुक्त बनेको दिन स्मरण गर्दै एसकेएम सरकारले सरकार गठन गरेपछि तत्कालिन सरकारको शोषण र दमनबाट मुक्त बनेको बताए।
उनले १० अगस्तको दिन सिक्किमे जनताको आङमा घाम लागेको दिन हो भन्दै यदि १० अगस्तको दिन आफू जेलमुक्त नभएको भए अहिलेसम्म राज्यका जनता शोषित पीडित भएर बस्नु पर्ने थियो भनी बताए। आफू जेलमुक्त भएपछि राज्यका गरीब जनताका नानीहरूले पनि उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गरेको साथै रोगीहरूले पनि उपचार पाइरहेको उनले बताए। उनले पश्चिम जिल्लाको एक गरीब परिवारमा जन्मेकी छुनु राईको पाइलट बन्ने सपना पूरा हुँदै गइरहेको अवगत गराउॅंदै यदि एसकेएम पार्टी सरकारमा नआएको भए छुनु राइको सपना सपना नै रहने थियो भने।
उनले आफु जेलमा छॅंदा सिक्किमे जनताको अपार प्रेम र समर्थन पाएको बताउॅंदै जनताको माया र समर्थनका कारण एक वर्ष समय बितेको पत्तै नपाएको बताए। आफू जेलमा हुॅंदा जनताले पुऱ्याएको सहयोग कहिले नभुल्ने र भूल्न पनि नसकिने बताए। अर्कोतिर, मुख्यमन्त्रीले आगामी पाँच वर्ष अब मन लगाएर काम गर्ने वचन दिँदै अबोप्रान्त कहिले पनि तानाशाही सरकार नआउने ठोकुवा गरे। उनले चुनाउअघि सिक्किम बचाउँछु भन्नेहरू मुसाको दुल्होमा पसेको र यस पालीको चुनाउमा जनताले उनीहरूलाई धुलीसाथ गरिदिएको बताए।
यसपालीको चुनाउमा जात, धर्मको कुरा नसुनेर सरकारले गरेका कामहरूलाई हेरेर मानिसहरूले भोट दिएको मुख्यमन्त्रीले बताए। वर्तमान सरकारले पत्रकाहरूको सबै मागलाई पूरा गर्दै उनीहरूलाई न्याय दिलाएको पनि उनले ठोकुवा गरे।उनले एसिस्टेन्ट प्रोफेसरहरूको निम्ति अब अन्तर्वार्ताको माध्यमद्वारा नियुक्ति गर्ने जानकारी गराए। केही एसिस्टेन्ट प्रोफेसरले सरकार विरूद्ध मुद्दा दर्ता गरेको अवगत गराउॅंदै यस विषयमा सरकार सर्वोच्च न्यायालयसम्म जान तयार गरेको उनले बताए। मामिला दर्ता गर्ने एसिस्टेन्ट प्रोफेसरहरूले न्यायलयलाई समेत मिसगाइड गरिरहेको उनले आरोप लगाए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा अब जनता सरकार साथै कार्यालय खोज्दै जानु पर्देन, तर सरकार जनता खोज्दै घरमा पुग्नु पर्ने निर्देश दिए। वर्ष २०१९ देखि यता एसकेएम सरकारले समावेशी राजनीति गरेको, तर अब २०२४ देखि २०२९ सम्म सहकारिताको राजनीति गर्ने जानकारी गराए। सबै विधायकहरू हप्तामा एकपल्ट आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुपर्ने सुझाउ दिएको पनि उनले अवगत गराए। अब सामेल हुने कार्यक्रमको आयोजना नगर्ने पनि उनले घोषणा गरे। अब पार्टीलाई प्राथमिकता दिएर पञ्चायत चुनाउ सम्पन्न गराउने बताउॅंदै आगामी पञ्चायत चुनाउ पार्टीगतरूपमा सम्पन्न गराउने मुख्यमन्त्रीले गरे घोषणा।