खरसाङ: कथाकार सरोजिनी सागर देवानद्वारा लिखित विषम वियोग कथा संग्रहमाथि खरसाङमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। ज्ञानकुञ्ज बुक्स खरसाङ र हाम्रो दृष्टि अनलाइन न्युज च्यानलको संयुक्त आयोजनामा उक्त विमर्श कार्यक्रम खरसाङको चिमनीस्थित क्याफे चिमनीमा सम्पन्न भएको थियो। यस विमर्श कार्यक्रममा विमर्शकर्ताको रूपमा वरिष्ठ कथाकार छिमी ओङ्मु लामा, कथाकार सन्ध्या आचार्य र कथाकार एंव शोधार्थी कोमल केरुङ सुब्बा उपस्थित थिए भने सहजकर्ताको भूमिका हनोक थापाले निर्वाह गरेका थिए। ज्ञानकुञ्ज बुक्स खरसाङको निर्देशक एंव कथाकार सञ्जीव छेत्रीले स्वागत सम्भाषण राखेपछि थालिएको उक्त विमर्श कार्यक्रममा तीनैजना विमर्शकर्ताहरूले कथाकार सरोजिनी सागर देवानको कथा लेखन, भाषा शैली, कथाकारिता, लगायत कथाको विषय वस्तु र अन्य विभिन्न विषयहरूमा चर्चा परिचर्चा गर्दै विमर्शमा भाग लिएका थिए। तीनैजनाले कथाकार सरोजिनी सागर देवानको कथा संग्रह विषम वियोगमाथि आफ्नो विचार राखेका थिए। तीनैजनाले यो कथा संग्रह वर्तमान कथा लेखनमा कथाकार सरोजिनी सागर देवान खरो उत्रिएको र कथाकार सरोजिनी देवानले आफुले भोगेका, आफुले देखेका विषय वस्तुहरूलाई सहज रूपमा कथाहरूमा उतारेको अनि कथा लेखनमा पारंगत देखिएको बताएका थिए। विमर्शमा कथाकार सरोजिनी सागर देवानद्वारा अंग्रेजी भाषाको प्रयोग गरिएको विषयमा पनि चर्चा गरिएको थियो भने यसको विषयमा विमर्शकर्ताहरू पाठकीय टिप्पणी राख्ने टिप्पणीकारहरूवे पनि आफ्नो मत प्रकट गरेका थिए। कार्यक्रममा पाठकीय टिप्पणी पनि उपस्थित स्रष्टाहरूले राखेका थिए। यस क्रममा आशा मुखिया लामा, विनोद रसाइली, बालकृष्ण थामी, विष्णु ठकुरी, देविका मंग्राती राई, मिना लामा राई, सुवास छेत्री भावुक, मिलन प्रधान, वरिष्ठ साहित्यकार ग्याल्पो लामा, द्वारिका छेत्री, शोभा राई आदिले पाठकीय टिप्पणी राखेका थिए। कार्यक्रममा कथाकार सरोजिनी सागर देवानको कथा लेखन, भाषा, शैली र शिल्प पक्षलाई लिएर कथाकार सञ्जीव छेत्रीले वक्तव्य राखेका थिए। उनले कथा संग्रह विषम वियोग कथाको सैध्दान्तिक पक्षलाई हेर्दा लघु कथा नभएको र यसमा केही छोटो कथाहरू भए पनि पूर्ण रूपमा कथाहरू नै रहेको बताएका छन्। यस विमर्श कार्यक्रममा उठान भएका विषयहरू र कुराहरूलाई कथाकार सरोजिनी सागर देवानले सकरात्मक रूपमा लिएको र आगामी दिनमा त्यसलाई प्राथमिकता दिएर कार्य गर्ने बताएकी छन्। उनले विमर्श कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन युवा स्रष्टा नितेस राईले राखेका थिए। कथाकार सरोजिनी सागर देवानको कथा लेखन विषम वियोग गत वर्ष ५ नोभेम्बर २०२३ मा लोकार्पण गरिएको थियो। यो उनको पहिलो कृति हो। यस विमर्श कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कथाकार सरोजिनी सागर देवानले यस विमर्श कार्यक्रममा उठान गरिएको विषयहरूलाई आफुले सकरात्मक रूपमा लिएको र भविष्यमा यसमाथि कार्य गर्ने बताएकी छन्। उनले भविष्यमा मुक्तक संग्रह प्रकाशित गर्ने आशा व्यक्त गरिन्।

उल्लेखनीय छ कथाकार सरोजिनी सागर देवानको कथा संग्रह विषम वियोग पहिलो कृति हो र यसमा जम्मा १५ वटा कथाहरू समावेश गरिएका छन्। ज्ञानकुञ्ज बुक्स खरसाङ र हाम्रो दृष्टि अनलाइन न्युज च्यानलको संयुक्त आयोजनामा भएको विमर्श कार्यक्रम भविष्यमा पनि आयोजना गरिने र विशेष गरी हालैमा विमोचन भएको कुनै पनि कृतिमाथि यस्ता विमर्श कार्यक्रम आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।