गान्तोक: एसकेएम सरकारको दोस्रो कार्यकालको पहिलो बजेट सत्रको आज समापन भयो। बजेट समापनपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यस वर्षको बजेट विशेष गरेर बिजुली, पानी, सडक, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताए।
अहिले सिक्किमका लोकसभा र राज्यसभा सांसदहरूले केन्द्रिय मन्त्रीहरूसँग भेट गरेर राज्यका विभिन्न मुद्दाहरूलाई अगाडि बढाउने कार्य गरिरहेको उनले बताए।
उनले वर्ष ४ अक्टोबर, २०२३ मा आएको विनाशकारी बाढीले राज्यलाई धेरै क्षति पुऱ्याएको हुॅंदा केन्द्र सरकारसँग समन्वय राखेर काम गरिरहेको जानकारी गराए। उनले उक्त प्रकृतिक प्रकोपमा परेर धेरै जना विस्थापित बन्न पुगेको बताउॅंदै उनीहरूको पुर्नवास गराउने उद्देश्यले काम गर्ने बताए।
प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्रीले यस वर्ष पहिलेको तुलनामा सूचना एवम् जनसम्पर्क विभागको निम्ति अधिक धनराशि आवण्टन गरिएको जानकारी गराए। विशेष रूपमा पत्रकारहरूको पेन्सन, विज्ञापन दरमा वृद्धि लगायत सिक्किम भारतको अभिन्न अङ्ग बनेको पचास वर्ष पूरा भएको अवसरलाई ध्यानमा राख्दै आईपीआर विभागको निम्ति अधिक धनराशि छुट्याइएको बताए। उनले पत्रकारहरूको पेन्सनको निम्ति यसपाली २० लाख रूपियाँको धनराशि आवण्टन गरिएको पनि जानकारी गराए।