गेजिङ: आगामी १५ अगस्तको दिन पालन गरिने ७८औं स्वतन्त्रता दिवसको अवसर पारेर गेजिङ जिल्लामा विभिन्न प्रकारको कार्यक्रम आयोजना भइरहेको छ। यस कार्यक्रम अन्तर्गत पुरूष र महिलावर्गको निम्ति खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरियो। क्योङसाको कन्या वरिष्ठ माध्यमिक विद्यालयको बास्केट बल कोर्टमा तीन दिनदेखि निरन्तर प्रतियोगिता सम्पन्न भइरहेको छ।आजको यस कार्यक्रममा गेजिङ जिल्लाकी महकुमा अधिकारी तिरसाङ तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन् भने उनको साथमा भवन तथा आवास विभागका डिभीजनल इञ्जिनियर अशोक थापा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आज दोस्रो दिनको तीनवटा खेल खेलाइएको थियो,जसमा पहिलो खेल क्वीन बिज बनाम कस्तुरबा गान्धी बालिका विद्यालयबीच सम्पन्न भएको थियो भने सो खेलमा क्वीन बिज १६ अङ्कले जित दर्ता गर्न सफल बन्यो। यसरी नै दोस्रो खेल इएमआरए बनाम क्योङसा वरिष्ठ माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो,जसमा इएमआरएले ५९ अङ्क हासिल गर्दै विजयी बन्यो। सोही प्रकारले तेस्रो खेलमा डिफेन्डर जोरथाङले डेमी मोङकसलाई दस अङ्कले पराजित गर्दै विजयी बन्यो।