ढाका: मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्। उनलाई नेपाली समय अनुसार राति ९:०५ बजे राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पद तथा गोपनियताको शपथ गराएका हुन्। युनुस बाहेक सरकारमा सामेल हुने १६ मध्ये १३ जनालाई राष्ट्रपतिले शपथ खुवाए। शपथ लिनेहरूमा आन्दोलन गर्ने विद्यार्थीहरूका २ नेताहरू नाहिद इस्लाम र आसिफ महमुद पनि थिए। ढाका ट्रिब्यूनका अनुसार शपथ समारोहमा करिब ४०० जना सहभागी थिए। यसअघि विदेश मन्त्रालयले शेख हसिनाको भावी योजना के छ भन्ने थाहा नभएको बताए। आरक्षण आन्दोलनले हिंसात्मक रुप लिएपछि हसिना ढाका छोडेर ५ अगस्तमा दिल्ली गएकी छिन्।