रम्फू: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने लक्ष्य राखेर केही दिनदेखि अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत हालसम्म ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई खोरमा लगाइसकेको छ। यसै क्रममा हिजो रम्फू पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी चानमारी निवासी छिरिङ लेप्चाकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीको मूल घर च्याखुङ रहेको तर केही महिनादेखि चानमारीमा बस्दै आइरहेको पुलिसले जानकारी गराएको छ। आरोपी लेप्चा सिलगढीदेखि गान्तोक आउने बसमा आइरहेका थिए। तर रम्फू चेकपोस्टमा पुलिसले जाँच गर्ने क्रममा आरोपीबाट १४६ वटा एनटेन ट्याबलेट र १७१७ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेलापारेपछि पक्राउ गरेको छ। हाल आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत रम्फू थानामा मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।