पेरिस: भारतीय पुरुष हकी टीमले टोक्योपछि पेरिस ओलम्पिकमा पनि काँस्य पदक जित्यो। भारतले बिहीवार खेलिएको काँस्य पदकको म्याचमा स्पेनलाई २-१ ले पराजित गऱ्यो। विश्व च्याम्पियन जर्मनीविरुद्ध ३-२-ले पराजित भएर फाइनलमा स्थान बनाउनदेखि चुक्ने भारतलाई आज कप्तान हरमनप्रीत सिंहको २ गोलले काँस्य पदक दिलायो। भारतले टोक्यो ओलम्पिकमा पनि काँस्य पदक जितेको थियो। यसरी टीम लगातार दोस्रोपल्ट ओलम्पिकमा पोडियम फीनिश गर्न सफल रह्यो। भारतका अनुभवी गोलकीपर पीआर श्रीजेशको यो अन्तिम अन्तर्राष्ट्रिय म्याच थियो अनि टीमले पनि जीतको साथ उनलाई यादगार विदाई दियो। भारतीय हकी टीमको भित्ता मानिने श्रीजेश टोक्यो ओलम्पिकमा पनि भारतीय टीमका हिस्सा रहेका थिए। ओलम्पिकको हकी स्पर्धामा यो भारतको १३औं पदक हो। टीमले हकीमा अहिलेसम्म ८ वटा स्वर्ण, एउटा रजत र ४ वटा काँस्य पदक जितेको छ। यसरी भारतले ५२ सालको लामो प्रतीक्षापछि यस खेलमा लगातार दुईवटा ओलम्पिक पदक जित्यो। भारतीय टीमले पहिला १९६८ र १९७२-मा लगातार पदक जितेको थियो। त्यसपछि टीमले १९८० मा आफ्नो अन्तिम स्वर्ण पदक जितेको थियो। भारत र स्पेनबीच काँस्य पदक म्याचमा पहिलो कार्टरमा कुनै गोल भएन। दोस्रो क्वार्टरमा चाहिँ स्पेनले शुरुमै बढ़त हासिल गऱ्यो। मार्क मिराल्सले पेनल्टी स्ट्रोकबाट गोल गरी स्पेनलाई १-० ले अघि पारे। त्यसपछि हरमनप्रीत सिंहले दोस्रो क्वार्टरको खेल समाप्त हुन केही सेकेण्ड अघि पेनल्टी कर्नरमा गोल गरी भारतलाई बराबरीमा पुऱ्याए। त्यसपछि भारतले तेस्रो क्वार्टरमा पनि असल शुरुवात गर्यो। कप्तान हरमनप्रीतले फेरि ३३औं मिनटमा गोल गरी भारतलाई २-१-को बढ़त दिलाए। यो उनको पेरिस ओलम्पिक खेलहरूमा १२औं गोल हो। त्यसपछि भारतले २-१ को बढ़तलाई नै अन्तसम्म कायम राखेर काँस्य पदक सुनिश्चित गऱ्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय हकी टीमलाई फोनमार्फत बधाई दिएका छन्।