गान्तोक: लेप्चा जातिको महान पर्व टेण्डोङ ल्हो रुम फात् आज राजधानीस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा भव्यरूपमा पालन गरियो। आजको कार्यक्रममा मुख्यमन्त्रीसहित उनकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, आयोजन समितिका संरक्षक एवं पूर्व मन्त्री केएन लेप्चा, आयोजन समितिका अध्यक्ष एवं मन्त्री अरुण उप्रेती, मन्त्रीगण, विधायकगण, लेप्चा एसोसिएशनका पदाधिकारीहरू लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्री तामाङको बाहुलीबाट लेप्चा समुदयबाट उच्च पदमा रहेका साथै समाजमा विभिन्न योगदान पुर्याउॅंदै आएका व्यक्तिहरूलाई सम्मान जनाइयो। यस क्रममा तार छिरिङ लेप्चालाई टेण्डोङ अवार्डले सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सबैलाई टेण्डोङ ल्हो रुम फात् पर्वको अवसरमा शुभकामना व्यक्त गरे। यो उत्सवमा अधिक मात्रामा युवाहरूको भागीदारीले अब लेप्चा जातिको भविष्य सुनौलो रहेको आफुले महसुस गरेको उनले बताए। यसरी संगठनले विभिन्न कार्यक्रम अनि पर्वहरूमा युवाहरूको भागीदारी गराए जातीय संगठनहरू अझ बलियो भएर जाने उनले बताए।
लेप्चा जाति आदिवासी जनजाति विभिन्न अभेक ठाउँहरूमा बसोबासो गर्ने गरेपनि यस अवसरलाई बहानाको रुपमा नलिएर आफैलाई सक्षम बनेर उभ्याउने अवसरको रुपमा लिएको अनि यसैको फलस्वरुप अहिले राज्यमा लेप्चा समुदायबाट दुई मन्त्री, तीन विधायक, एक राज्यसभा सांसद, एक जिल्ला अध्यक्ष, एक पुलिस अधीक्षक अनि चार विभागीय सचिवहरू रहेको मुख्यमन्त्रीले जानकारी गराए।
उनले सिक्किम क्रान्तिकारी मार्चा पार्टीले सरकार गठन गरेदेखि जातिय संगठनहरूलाई खुल्ला रुपमा संचालन हुन दिएकै कारण अहिले सबै जात धर्ममाझ आत्मीयता बढ़ेर गएको उनले दाबी गरे। अब सम्पूर्ण सिक्किमे जनताले आफूलाई आवश्यक पर्दा मात्र आफ्नो जातीय संगठन नखोजेर हरेक समय नै आफ्नो क्षमता अनुसार योगदान दिन आग्रह गरे। यसो गरे जातीय संगठनहरू मजबुद भएर जाने उनले किटान गरे। अब सम्पूर्ण जातले आफ्नो पौराणिक संस्कार र संस्कृति संरक्षण गर्दै आधुनिक कुराहरूलाई पनि अंगालेर अघि बढ्नुपर्ने उनले सुझाउ राखे।
आजको कार्यक्रममाझ मुख्यमन्त्री तामाङले राजधानीमा लेप्चा भवनको निर्माण गर्ने साथै पश्चिम सिक्किमस्थित फामरोङलाई पुनर्निर्माण गर्ने घोषणा गरे। सरकारले लेप्चा समुदायको बीएल हाउसलाई पुनर्निर्माण गर्ने, लेप्चा इतिहाससँग नजिक रुपमा सरोकार राख्ने स्वर्ग जाने सिढ़ी निर्माणको निम्ति यो बजेटमा ५ करोड़ रुपियाँ धनराशि छुट्याएको जानकारी गराए। यसको निरमाणकार्य यही वर्षभित्र पूरा गरेर जनतालाई समर्पित गर्ने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे।
आजको कार्यक्रमलाई पूर्व मन्त्री एवं आयोजन समितिका संरक्षक केएन लेप्चा अनि मन्त्री अरुण उप्रेतीले पनि सम्बोधन गरेका थिए।







