गान्तोकमा राज्य स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू

IMG-20240808-WA0271

गान्तोक: सिक्किम ब्याडमिन्टन एसोसिएसनको पहलमा राजधानी गान्तोकस्थित पाल्जर स्टेडियमको इन्डोर हलमा आजदेखि चार दिवसीय राज्य स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू भयो।
आजको उद्घाटन समारोहमा एसोसिएसनका सह सचिव तथा यस प्रतियोगिताका अध्यक्ष छिरिङ शेर्पाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस प्रकारको प्रतियोगिता आयोजना गर्न सक्षम बनेकोमा एसोसिएसनलाई बधाई टक्राए साथै यस प्रकारको खेलको आयोजनाले युवा अनि विद्यार्थीहरुमा सकारात्मक भावना जाग्ने र कुमार्गतिर जानबाट रोकथाम हुने बताइन्। यस राज्यस्तरीय प्रतियोगितामा ६ वटा जिल्लाबाट २५० भन्दा अधिक खेलाडीहरुले सहभागिता जनाएको जानकारी एसोसिएसनका महासचिव सुकान्त दासले दिएका छन्। उनले जानकारी दिए अनुसार यो प्रतियोगितामा क्रमैले अन्डर ११, १३, १५,१७ अनि १९ उमेरका दुवै पुरुष अनि महिला वर्गको खेल सम्पन्न हुनेछ साथै भेटरेन्स अनि मास्टर्स वर्गको पनि प्रतियोगिता हुने भएको छ। मास्टर्स वर्गमा ५५ वर्षदेखि अधिक उमेरका खेलाडीहरुले भाग लिने उनले थप जानकारी दिएका छन्। यसरी नै एसोसिएसनका अध्यक्ष सी. जाङ्पोले युवा साथै बाल बालिकाहरुलाई खेलको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले साथै सिक्किमका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्मका खेलहरुमा भाग लिन उत्साह दिन यस प्रतियोगिताको आयोजना गरिरहेको बताए। यस वर्षको प्रतियोगितामा खेलाडीहरुले सोझै राज्य स्तरीय खेलमा भाग लिन पाएनन् तर विभिन्न ऱ्याङकिङ प्रतियोगिताहरुमा चयन भएका खेलाडीहरुले मात्र अंशग्रहण गरेको कुरा बताउँदै यहाँबाट चयन भएका खेलाडीहरु आगामी दिनमा हुने राष्ट्रियस्तरको खेलमा भाग लिने जानकारी गराए।
यो खेलको आयोजनाका लागि राज्यका मुख्यमन्त्रीबाट धेरै सहयोग पाइरहेको बताउँदै उनले मुख्यमन्त्रीलाई धन्यवाद पनि दिएका छन्।

About Author

Advertisement