झापा: यो तस्विर सन् १९६७ को सुन्सरी स्थित धरानको हो। धरानमा सञ्चालित यो रेल तत्कालिन कोशी ब्यारेज निर्माणको समय निर्माण भएको थियो। कोशी प्रोजेक्टको सम्बन्धमा सन् १९६६ डिसेम्बर १९ मा तत्कालिन श्री ५ को सरकार र भारत सरकार बीच भएको सम्झौता अनुरुप बाँध निर्माणका लागी आवश्यक ढुंगा ओसार्न यो रेल सञ्चालनमा ल्याइएको थियो।
कोशी प्रोजेक्ट सम्बन्धी कार्यको लागि नेपाल र भारत बीच भएको सन्धी अनुसार भारत सरकारले सो योजनाको लागि नेपालबाट प्राप्त गर्ने ढुङ्गा, इत्यादी आफ्ना खर्चमा संकलन गरी ढुवानी गर्ने र त्यसमा रोयल्टीको हक भन्सार महसूल वा अन्य कर नलाग्ने साथै प्रोजेक्टको लागि चाहिने जग्गाहरू १९९ वर्षको लागि नेपालले भारतलाई ठेक्काको रुपमा उपलब्ध गराउने मुआब्जा इत्यादी भारत सरकारले तिर्ने शर्त गरिएको थियो। धरानको यस स्थानमा रेलको लिकको फलाम सबै चोरी भइसके पनि फलामका स-साना टुक्रा अवशेषहरु भने अझै पनि भेटिन्छ।