कोलकाता: पश्चिम बंगालका पूर्वमुख्यमन्त्री तथा दिग्गज वामपन्थी नेता बुद्धदेव भट्टाचार्यको आज (८ अगस्त) बिहीबार निधन भएको छ। बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा बिहान ८:२० बजे कोलकातास्थित आफ्नै निवासमा निधन भएको हो। समाचारअनुसार उनलाई सास फेर्न निकै समस्या भइरहेको थियो। उनका छोरा सुचेतन भट्टाचार्यले बाबुको निधन भएको पुष्टि गरेका छन्। बुद्धदेव भट्टाचार्य बंगालमा वाम मोर्चाको ३४ वर्षको शासनकालमा सीपीएमको दोस्रो र अन्तिम मुख्यमन्त्री थिए। सीपीआई (एम) नेता २००० देखि २०११ सम्म १० वर्ष पश्चिम बंगालको मुख्यमन्त्री थिए। भट्टाचार्यले २०१५ मा सीपीआईएमको पोलिटब्युरो र केन्द्रीय समितिबाट राजीनामा दिएका थिए। उनले २०१८ मा पार्टीको राज्य सचिवालयको सदस्यता पनि त्यागेका थिए। उनी मुख्यमन्त्री हुँदा पनि उनले ठूलो बंगला किन्न अस्वीकार गरेका थिए। पाँच दशकको राजनीतिमा १८ वर्ष मन्त्री र ११ वर्ष मुख्यमन्त्री भएर पनि उनीसँग न बंगला छ, न गाडी। उनी मन्त्री र मुख्यमन्त्री हुँदा पनि उनको परिवार सार्वजनिक यातायातमा मात्रै जाने गरेको बताइएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





