पेरिस: टोक्यो ओलम्पिकमा रजत पदक विजेता महिला भारोत्तोलक (वेट लिफ्टर) मीराबाई चानू पेरिस ओलम्पिकमा ४९ किग्रा वर्गमा चौथो स्थानमा रहेर पदक जित्नदेखि चुकिन्। मीराबाईले स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा १११-सहित जम्मा १९९ किलोग्राम ओजन उठाइन्। यसरी उनी केवल १ किलोग्रामले गर्दा पदक जित्नदेखि वञ्चित भइन्। स्वर्ण पदक जित्ने प्रबल दावेदार चीनकी वर्तमान च्याम्पियन होउ झिहुईले क्लीन एण्ड जर्कमा ओलम्पिक रेकर्डको साथ पहिलो स्थान हासिल गरिन्। स्वर्ण पदक जित्ने चीनकी भारोत्तोलकले जम्मा २०६ किग्रा (स्न्याचमा ८९ र क्लीन एण्ड जर्कमा ११७) ओजन उठाइन्। रोमानियाकी वालेण्टिना केम्बेईले २०६ (स्न्याचमा ९३ र क्लीन एण्ड जर्कमा ११२) किग्राको साथ रजत र थाईल्याण्डकी सुरोदचना खाम्बोले २०० (स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा ११२) किग्रा ओजनको साथ काँस्य पदक जितिन्। चोटमुक्त भएर खेलमा फर्किने मीराबाईले स्न्याचमा आफ्नो पहिलो प्रयासमा ८५ किग्रा ओजन सजिलै उठाइन् तर दोस्रो प्रयासमा ८८ किग्रा उठाउन असफल भइन्। त्यसपछि उनले तेस्रो प्रयासमा ८८ किग्रा ओजन उठाएर बर्मिंघम कमनवेल्थ गेम्समा बनाएको आफ्नो रेकर्डको बराबरी गरिन्। मीराबाईले क्लीन एण्ड जर्कमा पहिलो प्रयासमा असफल भए पनि दोस्रो प्रयासमा १११ किग्रा ओजन उठाइन्। त्यसपछि तेस्रो तथा अन्तिम प्रयासमा ११४ किग्रा ओजन उठाउन सकिनन्। मीराबाईले २०२२ बर्मिंघम कमनवेल्थ गेम्समा स्वर्ण पदक अनि त्यसअघि टोक्यो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। टोक्यो ओलम्पिकमा मीराबाईले ४९ किग्रा वर्गमा जम्मा २०२ किग्रा ओजन उठाएर रजत पदक जितेकी थिइन्। ओलम्पिकको इतिहासमा मीराबाई बाहेक कर्णम मल्लेश्वरीले पदक जितेकी छन्। मल्लेश्वरीले २०००-को सिडनी ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्।










