गेजिङ: गेजिङको क्योङ्गसा स्टेडियममा चलिरहेको ७८औं स्वतन्त्रता दिवस समारोह अन्तर्गत आज रंगारंग सांस्कृतिक कार्यक्रमका साथै फुटबल खेल सम्पन्न भयो। पुरुष खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत खेलिएको खेलमा गेजिङ पुलिसले डेन्ताम फुटबल क्लबलाई पेनल्टी सुटमा पराजित गऱ्यो।
आजकाे खेलमा पुलिस दलका खेलाडी टोनीलाई म्यान अफ् द म्याच चयन गरियो।
यसैगरी, अन्तर विद्यालय फुटबल म्याचमा रिम्बिक सरकरी माध्यमिक विद्यालयले डम्बरसिंह मेमोरियल उच्चतर माध्यमिक विद्यालयलाई पराजित गऱ्यो। यस अघि खेलिएको एक खेलमा तिक्जुक क्योङ्गसा जीपीयूले लिङचोम तिक्जेक जीपीयूलाई टाई ब्रेकरमा पराजित गऱ्यो।
गेजिङ जिल्ला प्रशासन र याङथाङ स्पोर्टिङ क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा सरकारी ठेकादार टाशी छोपेल भोटिया मुख्य अतिथि थिए। मुख्य अतिथि भोटियाले मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा राज्यवासीहरूको उत्थानको निम्ति शुरू गरिएका विभिन्न विकास कार्यहरूको बारेमा जानकारी दिए। उनले क्षेत्रको समग्र विकासको निम्ति मन्त्री एवं विधायक भीमहाङ लिम्बूबाट प्राप्त भइरहेको निरन्तर समर्थनको पनि सराहना गरे।











