सोरेङ: जोर्जन एफसी कालेबुङले मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ट्राइब्रेकरमा ३-१ गोलले परास्त गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। अत्यन्तै रोमाञ्चक रहेको क्वाटरफाइनल म्याचमा दुवै टिमले निर्धारित समयसम्म गोल गर्न असमर्थ बनेपछि खेलको निर्णय ट्राइब्रेकरको सहायताबाट भएको हो। बिहीबार दोस्रो क्वाटरफाइनल म्याच रेड पाण्ड र सिक्किम पुलिसबिच भिडन्त हुनेछ।
सोरेङ जौटार स्टुडियममा जारी ७८औं स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै आयोजित आमन्त्रण खुल्ला फुटबल टुर्नामेन्ट अन्तर्गत आजदेखि क्वाटरफाइनल म्याच आरम्भ भएको छ। सोरेङ जिल्ला स्वतन्त्रता दिवस समारोह समितिको तत्वावधानमा साथै सिङलिङ स्पोर्टिङ क्लबको सहकार्यमा जारी आठौं दिनको कार्यक्रममा सरकारी ठेकेदार सुभाष तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा स्थानीय सरकारी ठेकेदारहरु, समारोह समितिसँग आबद्ध मुख्य कार्यसमिति र उपसमितिका सदस्यगण, संघ-संस्थाका प्रतिनिधिगण, सेवानिवृत्त कर्मचारीगण, आमन्त्रित अतिथिगण, आमदर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
यहाँ जारी जिल्ला स्तरीय अन्तर विभागीय फुटबल म्याचमा सडक एवं पुल विभागले कृषि तथा बागवानी विभागलाई शुन्यको विरुद्ध तीन गोलले परास्त गरेका छन्। कार्यक्रममा सोरेङ टेन्डर फिट एकाडेमी र स्टेट बैंक अफ् सिक्किम सोरेङ शाखाद्धारा गरिएको नृत्य प्रदर्शनबाट पनि उपस्थित दर्शकहरुले खुब आनन्द उठाएका थिए।
अर्कोतिर स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै आज सोरेङ स्कुलको बीआरसी हलमा स्वतन्त्रता दिवस समारोह समितिका साँस्कृतिक समितिले जुनियर हाई स्तरीय अन्तरविद्यालय देशभक्ति गायन प्रतियोगिता, सिनियर सेकेन्डरी स्तरीय अन्तरविद्यालय देशभक्तिपरक नृत्य प्रतियोगिता र नशा मुक्त भारतको थीममा स्किट प्रतियोगिता सम्पन्न गरेका छन्। उक्त प्रतियोगितामा सोरेङ जिल्लाका भिन्नभिन्न स्कुलहरुले प्रतिस्पर्धामा भाग लिएका थिए। निम्नमाध्यमिक स्तरीय देशभक्ति गायन प्रतियोगितामा प्रथम बोम रेसी स्कुल, दोस्रो मालबाँसे स्कुल र तेस्रो बजेक स्कुल बनेका छन्। यसरी नै उच्चतर माध्यमिक विद्यालय स्तरीय देशभक्तिपरक नृत्य प्रतियोगितामा प्रथम सोरेङ स्कुल, दोस्रो केबी लिम्बु एसएसएस श्रीबदम र तेस्रो बढियाखोप स्कुल बन्न सफल बने। नशा मुक्त भारत अभियानलाई जागरुकता फैलाउन निमित्त यसै थीममा राखिएको स्किटमा प्रथम पक्कीगाउँ माध्यमिक विद्यालय, दोस्रो सावाली माध्यमिक विद्यालय र तेस्रो हात्तीढुङ्गा माध्यमिक विद्यालय बनेका छन्। यी ९ वटै विजेता स्कुलहरुलाई स्वतन्त्रता दिवस समारोह समितिले साँस्कृतिक समितिमार्फत नगद राशि, ट्रफी र प्रमाणपत्र आउँदो कार्यक्रममा प्रदान गर्ने भएको छ।










