कोलम्बो: आयोजक श्रीलंकाले बुधवार भारतलाई वनडे सीरीजको तेस्रो तथा अन्तिम क्रिकेट म्याचमा ११० रनले पराजित गऱ्यो। यसरी श्रीलंकाले तीनवटा म्याचको सीरीज २-० ले जित्यो। धीमा पीचमा भारतीय ब्याटिंग क्रमलाई आज पनि असहाय देखियो। आर प्रेमादासा स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनायो। त्यसपछि २४९ रनको लक्ष्यलाई पछ्याउँदै भारतीय टीम २६.१ ओभरमा केवल १३८ रन बनाएर अलआउट भयो। लक्ष्य ठूलो नभए पनि भारतको शुरुवात राम्रो रहेन अनि ओपनर शुभमन गिल केवल ६ रन बनाए पाँचौं ओभरमै आउट भए। कप्तान रोहित शर्माले २० बलमा ६ वटा चौका र एउटा छक्काको साथ ३५ रन बनाए पनि भारतको मध्यक्रमले कसैले पनि उल्लेखनीय योगदान दिन सकेन। विराट कोहली २० रन बनाएर आउट भए। मध्यक्रममा विकेटकीपर रिषभ पन्त (६), श्रेयस अय्यर (८) र अक्षर पटेल (२) को साथमा पदार्पण म्याच खेलिरहेका रियान पराग पनि १५ रन बनाएर आउट भए। अलराउण्डर वाशिंगटन सुन्दरले ३० रनको योगदान दिए। श्रीलंकाई बलरहरूमा स्पिनर दुनिथ वेल्लालागेले सर्वाधिक ५ विकेट लिए। यसबाहेक महीष तीक्ष्णा र जेफ्रे वाण्डरसेले २-२ विकेट हासिल गरे।
यसअघि म्याचमा श्रीलंकाको शुरुवात असल रह्यो अनि ओपनर अविष्का फर्नाण्डोले सर्वाधिक ९६ रन बनाए। उनले १०२ बल खेलेर ९ वटा चौका र 2 वटा छक्का लगाए। उनले साथी ओपनर पाथुम निस्सांकासँग मिलेर पहिलो विकेटको निम्ति १९.५ ओभरमा ८९ रनको पार्टनरशीप गरे। निस्सांकाले ४५ रन बनाए। उनले ६५ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। निस्सांका आउट भएपछि फर्नाण्डोले कुसाल मेण्डिसबाट असल साथ पाए अनि यी दुईले दोस्रो विकेटको निम्ति ८२ रनको पार्टनरशीप गरे। मेण्डिसले ८२ बल खेलेर ४ वटा चौकाको साथ ५९ रन बनाए। यो पार्टनरशीप तोड़िएपछि चाहिँ भारतीय बलरहरूले तेजीको साथ केही विकेट हासिल गरे। भारतीय बलरहरूमा रियान परागले सर्वाधिक ३ विकेट लिए। श्रीलंकाई स्पिनर वेल्लालागेलाई प्लेयर अव् द म्याच चयन गरियो।










