दार्जीलिङ: आज नेपाली साहित्य सम्मेलनको आयोजनामा वरिष्ठ साहित्यकार नेपाली साहित्य सम्मेलनका कर्मठ सदस्य दार्जीलिङ पहाडका एक वरिष्ठ साहित्यकार, प्राध्यापक, नाटककार साथै विभिन्न संघसंस्थासँग संलग्न रहेर अतुलनीय योगदान पुर्याउँदै आएका दार्जीलिङ युनिक परिसर निवासी ८२ वर्षीय साहित्यकार ओम नारायण गुप्ताको २४ जुलाई २०२४ को दिन आकस्मिक निधन भयो। आज नेपाली साहित्य सम्मेलनको पुस्तकालय कक्षामा सम्मेलनका अध्यक्ष डा. सी के राईको अध्यक्षतामा सम्पन्न गरिएको शोक सभाको यस कार्यक्रमको आरम्भमा नेपाली साहित्य सम्मेलनका महासचिव महेन्द्र प्रधानद्वारा कार्यक्रमलाई सञ्चालन गर्दै स्वर्गीय ओम नारायण गुप्ताको तस्वीरमा दीप प्रज्वलन गर्दै श्रद्धा अर्पण गरियो यसको साथै उपस्थित सम्मेलनका प्रतिनिधि वर्गबाट पनि श्रद्धा सुमन अर्पण गरियो। साहित्यकार ओमनारायण गुप्ताको आकस्मिक निधनमा शोक प्रकट गर्दै उपस्थित प्रतिनिधि वर्ग साथै सदस्यवर्गले चिर आत्मा शान्तिको निम्ति मौन धारण गरे। यसपछि अध्यक्ष डा. सी के राईले साहित्यकार ओम नारायण गुप्ताले नेपाली साहित्य सम्मेलन लगायत अन्य विभिन्न संघसंस्थासँग संलग्न रहेर आफ्नो पक्षबाट योगदान पुर्याउँदै आएको यसको साथै बलिउडका वरिष्ठ कलाकार गिरिश कर्नाडको कृतिलाई अनुवाद गरेर साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित भएको विषयलाई उजागर गर्दै भारतीय नेपाली साहित्य अनि हिन्दी साहित्यमा उनको ठूलो देन रहेको बताए।
यसको साथै सभामा उपस्थित नेपाली साहित्य सम्मेलनका सहसचिव जोगेन दर्नालले ओम नारायण गुप्तले दिएको योगदानहरूको चर्चा गर्दै उनले धेरै कलाकारहरु साथै विज्ञजनहरू जन्माएको विषयलाई प्रकाश पार्दै उनको योगदानलाई कहिल्यै भुल्न नसकिने बताए। वक्तव्यकै क्रममा डाक्टर नीना राईले साहित्यकार ओमनारायण गुप्ताले आफ्नो प्रत्येक कार्यक्रमहरूमा कार्यप्रणालीहरूमा आफ्नो भाषाको लेखलाई हिन्दी भाषामा अनुवाद गरिदिएको विषयहरूलाई राख्दै उनको मृत्युले आफ्नो मनमा पहिरो गएको बताए। यसको साथै अन्य उपस्थित सदस्यहरूले स्रष्टा ओमनारायण गुप्तको विषयमा आआफ्नो मन्तव्य राख्दै उनको चिर आत्मा शान्तिको निम्ति प्रार्थना गरे भने शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। शोक सभाको अन्त्यमा महासचिव महेन्द्र प्रधानले ओमनारायण गुप्ता इमान्दार निष्ठावान र कर्तव्य परायण व्यक्तित्व रहेको बताउँदै अध्यक्षको अनुमति लिएर शोकसभाको समापन गरे।










