गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमले नेपाली भाषा मान्यताको ऐतिहासिक उपलब्धिलाई आत्मसात् गर्दै वर्षेनी राज्यस्तरीय रूपमा भाषा मान्यता दिवस भव्यताका साथ पालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा आगामी २० अगस्तको दिन ३३औँ नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा नेपाली साहित्य परिषद्,सिक्किमले यस वर्षको सङ्गीत विधाको कञ्चनजङ्घा मित्रसेन स्मृति पुरस्कार दार्जीलिङ निवासी प्रसिद्ध सङ्गीतकार बसन्त छेत्रीलाई प्रदान गर्ने निर्णय लिएको छ। विशेषतः सिक्किम सरकारको प्रायोजनमा नेपाली साहित्य परिषद्,सिक्किमले वर्ष १९९२ देखि साहित्य, सङ्गीत र कला विधामा तीनवटा राष्ट्रस्तरीय पुरस्कारहरू प्रदान गर्दै आइरहेको भए तापनि कतिपय कारणवश २००६ देखि उक्त पुरस्कारहरू प्रदान गर्ने कार्य स्थगित रहेको थियो। तथापि मुख्यमन्त्रीको दिशा निर्देशनअनुरूप परिषद्ले वर्ष २०२२ देखि उक्त राष्ट्रस्तरीय पुरस्कारहरू निरन्तर रूपमा प्रदान गर्दै आइरहेको छ। पुरस्कारको वर्ग क्रम अनुसार यस वर्ष सङ्गीत विधाको कञ्चनजङ्घा मित्रसेन स्मृति पुरस्कार प्रदान गर्नलाई परिषद्द्वारा मनोनीत तीन सदस्यीय चयन समितिको मनोनयन तथा सिफारिसको आधारमा परिषद्ले श्री छेत्रीलाई उक्त राष्ट्रस्तरीय पुरस्कार प्रदान गर्ने निर्णय लिएको हो।
यसरी नै सिक्किम विश्वविद्यालयको अन्तिम सत्रान्त परीक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क प्रापक विद्यार्थीलाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ भने समारोहमा संवैधानिक मान्यतापछि नेपाली भाषाको अवस्थामाथि वार्ता पनि प्रस्तुत गरिने भएको छ।










