खरसाङ: विश्व कवि गुरु रविन्द्रनाथ ठाकुरको ८३औं पुण्यतिथि आज खरसाङमा पालन गरिएको छ। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको आयोजनामा कवि गुरुको पुण्यतिथि कार्यक्रम खरसाङको राज राजेश्वरी भवनमा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपक उपस्थित रहेका थिए। कार्यक्रममा कवि गुरु रविन्द्रनाथको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा स्वागत गीत, राज राजेश्वरी स्कूलका विद्यार्थीहरूले प्रस्तुत गरेका थिए भने स्वागत सम्भाषण सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको अधिकारी अनिर्बन दामले राखेका थिए। त्यसरी नै नृत्य नृत्यांगी डान्स अकाडेमीद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रममा लोक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा मुख बाजाको धुन बिराजकुमार पान्जाले प्रस्तुत गरेका थिए। कार्यक्रममा मुख्य अतिथि खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकले विश्वकवि रविन्द्रनाथको योगदान र उनको लेखन विषयमा जानकारी गराउँदै कवि गुरु विश्व कवि रहेको र उनको लेखनको महत्व विषयमा बताएका छन्। कार्यक्रममा राज राजेश्वरी स्कूलकी प्रधान अध्यापिका पौबी समानता, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी प्रभारी शिक्षिका ललिता थापा आदिले वक्तव्य राखेका थिए। त्यसरी नै सिलगढीका सत्यजीत मुखर्जी र शुभरा चक्रवर्तीले रवीन्द्र संगीत प्रस्तुत गरेका थिए भने पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले सामुहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको अधिकारी अनिर्बन दामले राखेका थिए। कार्यक्रममा खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई सूचना अनि सांस्कृतिक विभाग खरसाङको एभी टेक्निसियन दिपक कर्मकार र शिक्षिका प्रमिला दासले सञ्चालन गरेका थिए।











