मङ्पु: मङ्पूमा विश्व कवि रविन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन गरिएको छ। विश्व कवि रविन्द्रनाथ ठाकुरले चारपल्ट वास गरेको भूमि मङपूमा रविन्द्रनाथको संग्रहालयमा गुरुदेवको ८३औं पुण्यतिथि आज पालन गरियो। सूचना एवं सांस्कृतिक विभाग दार्जिलिङ एवं श्रमिक कल्याण केन्द्र मङपूको संयुक्त आयोजनामा कवि गुरुको ८३औं मृत्यु वार्षिकी मङपूमा आज पालन गरियो। यस समारोहका प्रमुख अतिथि तकदाह आर-आर खण्ड विकास अधिकारी मनोजकुमार पहारीको बाहुलीबाट कविको तस्वीरमा माल्यार्पण, पुष्पार्पण एवम् दीप प्रज्वलन गरी कार्यक्रम शुरु गरियो।

यसरी सूचना एवं सांस्कृतिक विभागीय अधिकारी खाङ डोमा भुटीया, रवीन्द्र श्रमिक कल्याण केन्द्र मङपूका अधिकारी सदुमा छेत्री अनि अन्य अतिथिगणले पनि गुरुदेवको प्रतिमामा श्रध्दासुमन अर्पण गर्दै माल्यार्पण एवं धुप प्रज्वलन गरे।

कार्यक्रममा लोक प्रसार प्रकल्प दार्जिलिङ जिल्लाका कलाकार एवं गायक पदम बराईलीले वाद्य वादक, बेनु बम्जन अनि अकबर राईको सहयोगमा रवीन्द्र संगीत प्रस्तुत गरे भने बाहिरबाट मङपू रविन्द्र भवन घुम्न आएका पर्यटकहरुले कविता आवृत्ति गरेका थिए।











