पेरिस: भारत र जर्मनीको पुरुष हकी टीमबीच सेमिफाइनल म्याच तेस्रो क्वार्टरसम्म बराबरीमा चलिरहेको थियो तर जर्मनीले म्याच समाप्त हुन ६ मिनट अघि बढ़त हासिल गऱ्यो अनि त्यही बढ़तलाई अन्तसम्म कायम राखेर पेरिस ओलम्पिकको फाइनलमा स्थान बनायो। म्याचको पहिलो क्वार्टरमा भारतले बढ़त हासिल गरेको थियो तर दोस्रो क्वार्टरमा टीम पछाड़ियो। तेस्रो क्वार्टरमा सुखजीत सिंहले गोल गरी भारतलाई बराबरीमा पुऱ्याए पनि जर्मनीले अन्तिम समयमा गोल गरी ३-२-ले म्याच जितेर स्वर्ण पदकको लड़ाइँमा स्थान बनायो। फाइनलमा जर्मनीको सामना नीदरल्याण्डसँग हुनेछ। यसरी भारतले अब काँस्य पदकको म्याचमा स्पेनको चुनौती स्वीकार्नेछ। विश्व च्याम्पियन जर्मनीले भारतीय हकी टीमको ४४ सालपछि ओलम्पिक स्वर्ण पदक जित्ने सपनालाई मंगलवार राति चकनाचूर पाऱ्यो। आफ्नो अनुभवी डिफेण्डर अमित रोहिदास बिना मैदानमा ओर्लिने भारतीय टीमले दबाउमा धेरै गल्तीहरू गऱ्यो अनि जर्मनीले त्यसको फाइदा उठायो। भारतले अन्तिमपल्ट १९८०-को मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। त्यसपछि चाहिँ भारतले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। भारतले टोक्यो ओलम्पिकमा जर्मनीलाई नै पराजित गरी काँस्य पदक जितेको थियो तर टीमले यसपाली पदकको रंग बद्लिन सकेन।
भारतलाई पहिलो क्वार्टरमा जम्मा ७ वटा पेनल्टी कर्नर हासिल भयो, जसमा एउटा चाहिँ गोलमा परिणत भयो। भारतलाई कप्तान हरमनप्रीत सिंहले पेनल्टी कर्नरबाट सातौं मिनटमा बढ़त दिलाए। त्यसपछि जर्मनीलाई दोस्रो क्वार्टरमा पेनल्टी स्ट्रोक प्राप्त भयो, जसलाई गोञ्जालो पिलाटले १८औं मिनटमा गोलमा परिणत गरी स्कोर बराबरीमा पुऱ्याए। त्यसपछि क्रिस्टोफर रुएहरले २७औं मिनटमा गोल गरी जर्मनीलाई २-१-को बढ़त दिलाए। यसरी हाफ टाइमसम्म जर्मनी २-१-ले अघि रहेको थियो। भारतले तेस्रो क्वार्टरको खेलमा बराबरी हासिल गऱ्यो। भारतको निम्ति सुखजीत सिंहले ३६औं मिनटमा गोल गरे। चौथो क्वार्टरमा खेल रोमाञ्चक भयो अनि एक समय म्याच पेनल्टी शूटआउटसम्म पुग्ने लागिरहेको थियो तर त्यही समय मार्को मिल्टकाउले ५४औं मिनटमा महत्त्वपूर्ण गोल गरी जर्मनीलाई ३-२-को निर्णायक बढ़त दिलाए।











