झापा: सुनसरीको धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले आदेश दिएको छ। स्थानीय उपभोक्ता र धरानमा रहेका दश राजनीतिक दलहरूले रविबार खानेपानी बोर्डमा तालाबन्दी गरेका थिए ।
तर, बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो।न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उत्प्रेषण परमादेश माग भएको निवेदनमा अगस्त १२ सम्मको लागि खानेपानी बोर्डमा तालाबन्दी नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
साथै खानेपानीको नियमित सेवा सञ्चालन गर्न दिनू, खानेपानीको व्यवस्थापन, वितरण तथा सञ्चालनमा कुनै अवरोध नगर्नू नगराउनू भनी विपक्षीहरूका नाममा आदेश दिएको हो।
अदालतले छलफल गर्न अगस्त १२ मा दुवै पक्षलाई बोलाएको छ। खानेपानीको महसुल ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै धरानका दश राजनीतिक दलहरूले चरणबद्ध आन्दोलन गर्दै खानेपानी बोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखा तथा बिल काउन्टरमा पनि तालाबन्दी गरेका थिए।










