गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले आज ठाकुरबाडी मन्दिर प्रबन्धनसॅंग सम्बन्धित हितधारकहरूसॅंग जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा एक बैठक आयोजना गरे।
बैठकमा अतिरिक्त पुलिस अधीक्षक कर्मा छेडुप भोटिया, अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटिया लगायत मारवाडी समाज, बिहारी समाज र नेपाली समाजका प्रतिनिधिहरूको सहभागिता थियो।
आजको बैठकमा मन्दिरको सञ्चालन र सम्बद्ध गतिविधिहरूलाई ध्यानमा राख्दै प्रशासनिक र विकासीय मुद्दाहरूमाथि छलफल गरियो। जिल्लापालले मन्दिर परिसरको नियमित मर्मत गर्नुपर्ने विषयमया जोड दिँदै यसको निम्ति समुदायको संलग्नता आवश्यक रहेको बताए। सुरक्षा लगायत अन्य सम्बन्धित विषयहरूमाथि पनि चर्चा गरियो।
बैठकमा उपस्थित विभिन्न समुदायका प्रतिनिधिहरूले बैठकमा लिइएका निर्णयलाई कार्यान्वयन गरेर मन्दिर र यसका परिसरको उन्नतिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।