गान्तोक: सिक्किम विधानसभामा वित्तीय वर्ष २०२४-२५ को निम्ति चलिरहेको बजेट सत्रको आज दोस्रो दिन तीनवटा विधेयक बिना बहस सर्वसम्मतिद्वारा पारित भयो। उक्त विधेयकहरू हिजो बजेट सत्रको पहिलो दिन सदनमा पेश गरिएको थियो।
मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले हिजो दुईवटा संशोधन विधेयक पेश गरेका थिए, जसमा सिक्किम कोर्ट फीस एण्ड स्ट्याम्पस् अन् डकुमेन्ट्स (एमेन्डमेन्ट) बिल,२०२४ र सिक्किम अनलाइन गेमिङ (रेगुलेशन) एमेन्डमेन्ट बिल, २०२४ सामेल छन्।
यसैगरी, पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ थेन्डुप भोटियाले सिक्किम रेजिस्ट्रेशन अफ् टुरिस्ट ट्रेड बिल, २०२४ नामक एउटा नयॉं विधेयक पेश गरेका थिए। उक्त तीनवटा विधेयक आज सर्वसम्मतिद्वारा बिना बहस पारित भयो।
बजेट सत्रको आज दोस्रो दिन विधानसभाका पूर्व सदस्यद्वय स्व. सोनाम ग्याछो भोटिया र स्व. रामचन्द्र पौड्याल तथा पूर्व लोकसभा सांसद स्व. पहलमान सुब्बाको सम्मानमा शोक समवेदना प्रस्ताव पेश गरियो। शोक समवेदना प्रस्तावमा मुख्यमन्त्री लगायत विधानसभाका अन्य सदस्यहरूले सदनमा दिवंगत व्यक्तित्वहरूको जीवनी, उपलब्धी, योगदान आदि विषयहरूमाथि प्रकाश पार्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। सदनले दिवंगत आत्माहरूको चिर शान्तिका लागि दुई मिनट मौन धारण गऱ्यो।
बजेट सत्रको पहिलो दिन हिजो सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सदनमा बजेट भाषण पेश गरेका थिए। राज्यपालको बजेट भाषणमाथि आज धन्यवाद प्रस्ताव पनि बिना चर्चा पारित गरियो।










