सोरेङ: सोरेङमा जारी आमन्त्रण खुल्ला फूटबल टुर्नामेन्टमा सीएसए च्याखुङले खरसाङलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्यो। यसकासाथै च्याखुङ टुर्नामेन्टको क्वार्टरफाइनलमा पुग्ने आठौं टिम बनेको छ। अब सीएसए च्याखुङको भिडन्त माझीटार नाइन स्टार एफसीसँग क्वार्टरफाइनल हुनेछ।
आजको खेलमा म्याच शुरु भएको १६औं मिनेटमा सीएसए च्याखुङका हिशुप थपलिया (९)-ले आकर्षक गोल गर्दै च्याखुङलाई बढत दिलायो। त्यसको ठिक चार मिनेट पछि च्याखुङको तर्फबाट फागुराम थारु (६)-ले फेरि अर्को उत्कृष्ट गोल थपेर च्याखुङलाई २-० गोलको अग्रता दिलाउन सफल भए। पहिलो हाफको खेलमा मिक्स-अप बोइस् खरसाङका खेलाडीहरुले पनि जोडदार प्रदर्शन गरेतापनि गोल फर्काउन भने सकेन। पहिलो हाफको खेलको समाप्तिसम्म च्याखुङले दुइ-शुन्यको अग्रता बनाइराख्यो। दोस्रो हाफमा दुवै टिमले गोल गर्ने लगातार प्रयास जारी राखेतापनि म्याच गोलरहित टुंगियो। आजको म्याचमा उत्कृष्ट खेलाडी च्याखुङका खेलाडी हिशुप थपलिया बने भने उसलाई आयोजक समितिले पुरस्कार स्वरूप पाँच हजार रुपियाँ पनि मुख्य अतिथिको हातबाट प्रदान गरियो। यहाँ बुधबारदेखि क्वाटरफाइनल म्याच शुरु हुनेछन्। पहिलो क्वाटरफाइनलमा चिरपरिचित टिम जोर्जन एफसी र मानेभञ्ज्याङ एफसी दार्जीलिङबीच भिडन्त हुनेछ। यी दुवै टिम दर्शकहरुले पनि धेरै रुचाएका टिम हुन्। सोरेङ जौटार स्टुडियममा जारी ७८औं स्वतन्त्रता दिवस कार्यक्रम आज आठौं दिनमा प्रवेश गरेको छ। सोरेङ जिल्ला स्वतन्त्रता दिवस समारोह समितिको तत्वावधानमा साथै सिङलिङ स्पोर्टिङ क्लबको सहकार्यमा जारी आठौं दिनको कार्यक्रममा सरकारी ठेकेदार सञ्जय चाण्डक मुख्य अतिथिको रूपमा उपस्थित थिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




