नयाँ दिल्ली: बंगलादेशमा हिंसा भड्किएपछि आफ्नो देश छोडेर भारतमा बसेकी पूर्वप्रधानमन्त्री शेख हसिना अबको ४८ घण्टामा युरोप जान सक्नेछन्। यद्यपी उनी युरोपको कुन देशको भ्रमणमा जानेछन् भन्ने यकिन जानकारी भने आएको छैन। छिमेकी देश बंगलादेशमा पनि हलचल मच्चिएको छ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अझै पनि हिन्डन एयरबेसको सेफ हाउसमा छिन्, जसको भावी रणनीतिबारे सरकारमा छलफल भइरहेको छ। अर्कोतर्फ, बंगलादेशमा छिट्टै नयाँ अन्तरिम सरकार गठन हुनसक्छ। विद्यार्थीहरूले बंगलादेशमा सैन्य शासन र सेना समर्थित सरकार स्वीकार नगर्ने अल्टिमेटम दिएका थिए। विद्यार्थीहरुको अल्टिमेटमपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद भंग गरेका छन्। सञ्चारमाध्यमक समाचार अनुसार यसैबीच बंगलादेशका पूर्व प्रधानमन्त्रीले आगामी ४८ घण्टामा भारत छोड्न सक्ने बताइएको छ। स्रोतका अनुसार हसिना युरोपको जुनसुकै देशमा जान सक्छिन्। यसबाहेक अन्य देशसँग पनि वार्ता भइरहेको छ। उनले रुसमा पनि शरण लिनसक्ने चर्चा छ। हाल शेख हसिनालाई गाजियाबादको हिन्दन एयरबेसको सेफ हाउसमा राखिएको छ। भारतले उनीहरुको सुरक्षा सुनिश्चित गरेको छ। शेख हसिनालाई अन्य देशमा पठाउने व्यवस्था पनि भारतले नै गर्ने बताइएको छ। किनकी उनी भारत आएको विमान बंगलादेश वायुसेनाको थियो र छिमेकी देश फर्किएको छ। यस्तो अवस्थामा शेख हसिना जुन देशमा शरण लिन जान्छिन्, भारतले उनलाई आफ्नो विमानबाट कडा सुरक्षासहित त्यहाँ पठाउनेछ। यस विषयमा सरकारको बैठक पनि चलिरहेको छ।










