कालेबुङ: प्रशासनले राष्ट्रिय राजमार्ग-१० मा वाहनहरूको ओहोर-दोहोरमाथि प्रतिबन्धलाई अझ बढ़ाएको छ। यो प्रतिबन्ध आगामी ११ अगस्तसम्म बढ़ेको छ।
रम्फू चेक पोस्टदेखि मल्ली बजार, चित्रे, रविझोड़ा, टिस्टा बजार, २९ माइलदेखि कालेबुङ जिल्लासम्म सड़कभरि नै ट्राफिक पुलिसलाई तैनाथ गर्ने सल्लाह दिइएको छ। कालेबुङ जिल्लाको जिल्ला शासक सुब्रमण्यम टीले भने, सड़कको मरम्मति कार्य पूरा नहुञ्जेलसम्म यस्तै प्रकारको नियन्त्रण जारी रहनेछ। पैह्रोको खतरालाई ध्यानमा राखेर सबै वाहनहरूलाई अर्को बाटोबाट पठाइँदैछ। अर्कोतिर पर्टयन व्यवसायीहरूको संगठन हिमालयन हस्पिट्यालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कले पत्र लेखेर टिस्टा नदी अनि राष्ट्रिय राजमार्ग-१० लाई बचाउनको लागि प्रधानमन्त्रीको हस्तक्षेपको माग गरेको छ। संगठन अनुसार कालेबुङ अनि सिक्किम तर्फ जाने राष्ट्रिय राजमार्गको अवस्था अत्यन्त सोचनीय भएको छ। बीच-बीचमै सड़क बन्द हुन्छ। टिस्टाको जलस्तर बढ़ेकोले सिक्किम अनि कालेबुङलाई व्यापक क्षतिको सामना गर्न परिरहेको छ। स्थितिको सामना गर्नको लागि जिल्ला प्रशासनद्वारा कुनै पनि कदम उठाइएको छैन जसले गर्दा यस क्षेत्रको पर्यटन उद्योगमाथि ठूलो प्रभाव परिरहेको छ। सूत्र अनुसार राजमार्गमा सेतीझोड़ादेखि रम्फूसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सबै भारी वाहनहरूको आवागमन बन्द रहनेछ भने साना वाहनहरूमाथि लगाइएको प्रतिबन्ध आगामी ११ अगस्तसम्म यथावत रहनेछ।