संसारकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने

IMG-20240806-WA0073

झापा: संसारकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ। यही अगस्त १७ देखि मुस्ताङ जिल्लास्थित लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो।
तेस्रो संस्करणको प्रतियोगितामा झन्डै ६० जना खेलाडीले प्रतिस्पर्धा गर्ने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधरा बिष्टले जानकारी दिए। उनका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडी पनि आउनेछन्। “उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलिनेछ। विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन, र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ,” उनले भने।
उनले होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक प्रदान गरिने बताउनुभयो। उक्त पुरस्कार कुनै पनि गल्फ प्रतियोगितामा अनौठो र चाखलाग्दो पुरस्कार रहने उनको भनाइ छ। यो पटकको प्रतियोगितामा साढे सात लाख रुपियाँ खर्च हुने अनुमान गरिएको विष्टले जानकारी दिएका छन्।
“यो गल्फ कोर्स सिर्जना गर्नु मेरो सपना रहँदै आएको छ। म आशा गर्दछु कि संसारभारका गल्फरहरुले यस गल्फ कोर्सलाई आफ्नो बकेट लिस्टमा राख्नेछन्। आदर्श रुपमा मेरो लक्ष्य यो संसारकै उच्चतम गल्फ कोर्समार्फत देशमा पर्यटन प्रवर्धन गर्नु हो,” उनले भनेका छन्।
२०२२ अगस्टमा उद्घाटन गरिएको मुस्ताङ गल्फ कोर्सले २० मिलियन सदस्यता अग्रणी गल्फ पत्रिका गल्फ डाइजेस्टमा अभूतपूर्व कभरेज प्राप्त गरेको उनले बताए। यस कोर्सलाई गल्फ डाइजेस्ट र गल्फ च्यानलबाट संसारको उच्चतम उचाइमा रहेको गल्फ कोर्स (४६४५ मि.) को रुपमा मान्यता दिइएको विष्टले जानकारी दिए। “आउँदो दिनहरुमा मुस्ताङ गल्फ कोर्सलाई विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रुपमा प्रचार गरिनेछ र सम्पूर्ण सरोकारवालाले देशमा उच्चस्तरीय पर्यटक ल्याउन हातेमालो गर्नेछन्,” उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement