नाम्ची: आगामी १५ अगस्तको दिन पालन गरिने स्वतन्त्रता दिवस तयारीलाई लिएर अन्तिम चरणको बैठक आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो।
नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल सुवास घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जिल्लाको विभिन्न विभागका प्रमुखहरू, लाइन विभागका अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल घिमिरेले स्वतन्त्रता दिवस पालन सम्वन्धि कार्यक्रमको अन्तिम सूचीमा समावेश गरिएका विभिन्न गतिविधिबारे छलफल गरे। उनले सो कार्यक्रम सफल तुल्याउन हेतु विभिन्न विभागलाई दिएको जिम्मेवारी र कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नु आह्वान गरे।
यसै क्रममा महकुमा अधिकारीले आफ्नो सम्बोधनमा उक्त कार्यक्रममा प्रयोग गरिने प्राय: सबै प्रकारको सामग्री पर्यावरण मैत्री हुनुपर्ने विषयमा जोड दिए। कुनै पनि कार्यक्रम सफल तुल्याउनको निम्ति एक अर्कामा समन्वय हुनु आवश्यक रहेको उनले बताए। अन्ततः महकुमा अधिकारीले स्वतन्त्रता दिवसलाई व्यवस्थि ढङ्गले सफल पार्नु पर्ने सबैलाई आग्रह गरे।











